तेह्रथुम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी आलीले आफूलाई श्री ३ सम्झेर रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने दुस्साहस गरेको बताएका छन् ।

आइतबार म्याङ्लुङमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपतिले गलत गरेको भन्दा देशद्रोहको आरोप लगाएको र प्रधानमन्त्रीले संविधानको खिलाफ कुकृत्यको उद्दण्ड मच्चाइरहेको आरोप लगाए ।

अध्यक्ष नेपालले आफूले इतिहासदेखि नै माले, एमाले र नेकपा बनाउन पहल गरेका बेला ओली कुनै भूमिकामा नहरेका कारण उनी पार्टी समूह भन्दा पनि व्यक्तिवादी भएका र कहिले पनि उनी नसुध्रिने बताए ।

Nekapa-Terathum-2

आन्दोलन गरी सत्ताच्यूत गर्न विरोध सभा गर्दै जनसमक्ष आउनुपरेको उनको भनाइ थियो । ओलीमा निरङ्कुशता हाबी भएको भन्दै प्रतिपक्ष नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाज लगायत सबै नेपाली जनता ओलीविरुद्ध आइसकेको नेपालको तर्क थियो । साथै ओलीको निरङ्कुशता चाँडै ढल्ने पनि अध्यक्ष नेपालले विश्वास दिलाए ।

यस्तै नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओली नेतृत्वको सरकारलाई नेकपाले तीन वर्षसम्म कुनै असहयोग नगरेको प्रस्ट पारे । ओली सरकारमा झन्डै तीन वर्ष ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री समेत भएका पुनले पार्टीले बरु सहयोग पुर्याएको बताए ।

Nekapa-Terathum-4

पार्टीका अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री मानेका व्यक्तिले संविधान माथि घात गरे पछि बाध्य भएर आफूहरूले विरोध गर्नुपरेको उनको भनाइ थियो । तीन वर्षसम्म सरकारले संसदमा पेस गरेका नीति तथा कार्यक्रम र बजेट तथा सरकारका तर्फबाट पेस भएका धेरै विधेयक संसद्ले पारित गरेको उल्लेख गरे ।

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले शक्तिशाली बनिसकेका प्रधानमन्त्रीविरुद्ध लडेर नेपाली जनता र आफूले जित्ने आत्मविश्वास रहेको बताए । नेपाल कम्युनिस्ट सभामा झाँक्रीले कागजका तानासाह बाँकी नरहने भन्दै सबै कुरा हातमा लिएको तानासाहले आफूलाई ६ घण्टा पनि थुन्न नसकेको बताए ।

बिरोधसभामा नेकपा प्रदेश नम्बर १ इन्चार्ज भीम आचार्य , नेकपा प्रदेश नम्बर १ अध्यक्ष घनेन्द्र बस्नेत, प्रदेश सचिव सुरेश राई , नेकपा तेह्रथुम सहईन्चार्ज दुर्गाप्रसाद चापागाईँ, भवानी खापुङले सम्बोधन गरेको विरोध सभा नेकपा तेह्रथुमका अध्यक्ष लक्ष्मण तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा जनकलाकार नवीन खड्काले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

तेह्रथुममा प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध सडक आन्दोलन
प्रधानमन्त्री केपी शर्मा ओली द्वारा गरिएको संसद् विघटनको विरोध गर्दै सडक आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी तेह्रथुमले सबै स्थानीय तहमा समेत सचेतना कार्यक्रम र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको छ ।

Nekapa-Terathum-1

म्याङ्लुङ नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको नेकपाले मेन्छ्यायोम गाउँपालिकामा प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा जनताको इच्छा र भावना विपरीत प्रतिनिधि सभालाई भङ्ग गरिएको भन्दै कार्यकताहरुमा समेत यसको सन्देश दिने उद्देश्यले सबै स्थानीय तहमा कार्यक्रम राखिएको नेकपा तेह्रथुमका कार्यालय सचिव भूपतिलाल श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षण तथा भेटघाट कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा तेह्रथुम इन्चार्ज जयन्ती राई, केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज दुर्गा चापागाईँ , पुर्व प्रतिनिधिसभा सदस्य भवानी खापुङ, प्रदेश कमिटी सदस्य अनुभुतिबम नेपाली लगायतका नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रम नेकपा मेन्छ्यायेम गाउँपालिका सङ्गठन कमिटीका अध्यक्ष नेत्र पन्धाकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेकपा जिल्ला कमिटी तेह्रथुमको पुस १५ गते सम्पन्न पूर्ण बैठकको निर्णय अनुसार जिल्लाका ६ वटै स्थानीय तहहरूमा कार्यक्रम गरिने भएको छ । कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम पुस १७ आठराईको सक्रान्तिबजारमा, पुस १८ गते फेदापको पोक्लाबाङ बजारमा , पुस १९ गते लालिगुरास नगरपालिकाको वसन्तपुर बजार र पुस २० गते छथर गाउँपालिकाको सुक्रबारे बजारमा हुने नेकपा तेह्रथुमका अध्यक्ष लक्ष्मण तिवारीले जानकारी दिए ।