धरान : प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा नेपाली काँग्रेसले आज देशभर विरोध प्रदर्शन र सभा गर्दै छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई हिजो नै निर्देशन दिएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा काँग्रेसले आज ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको हो ।

यस क्रममा सुनसरीको धरानमा पनि काँग्रेसले विरोध प्रदर्शन र सभा गर्दै छ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला धरानको विरोध सभामा आउदैछन् । केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि विरोध सभालाई सम्बोधन गर्न धरान आउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली काँग्रेस केन्द्रीय समितिले घोषणा गरेको कार्यक्रम अनुसार धरानमा विरोध सभा हुने भएको हो ।

आज बिहान साढे ११ बजे छाता चौकमा भेला भएर धरान नगर परिक्रमा सहित विरोध सभा सुरु हुने कार्यक्रम तय भएको नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव श्याम पोखरेलले जानकारी दिएका छन् ।

विरोध सभामा नेता डा. कोइराला सहित एक दर्जन भन्दा बढी नेताहरूले सम्बोधन गर्ने बताइएको छ । आजको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न नेपाली काँग्रेसले आग्रह पनि गरेको छ ।

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेको आरोप छ । संसद् विघटनको विषय सर्वोच्च अदालतमा बहसको क्रममा छ । प्रधानमन्त्रीको कदमलाई काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।