झापा  : लागूऔषध कारोबारीलाई छुटाउन गएका जनमत पार्टीका केन्द्रीय सदस्यसहित चार जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य ५० वर्षीय कौशीला महतो सहित चार जनाले प्रहरी माथि हातपात समेत गरेको प्रहरीले जनाएको छ । लागूऔषध गाँजा सहित पक्राउ परेका एक व्यक्तिलाई जबरजस्ती लैजान खोजे पछि रोक्न खोज्दा प्रहरी माथि नै हातपात गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा जनमत पार्टीका केन्द्रीय सदस्य महतो, गौरीगञ्ज गाउँपालिका–३ हुक्कागाछी बस्ने २७ वर्षीय जितेन्द्र महतो, सोही ठाउँका ६७ वर्षीय दशरथ मुखिया र गौरीगञ्ज–२ बस्ने २४ वर्षीय श्याम राजवंशी रहेका छन् ।

प्रहरीका अनुसार सादा पोसाकमा खटिएका प्रहरी टोलीले विशेष सूचनाका आधारमा शनिवार बेलुका ५ बजेको समयमा गौरीगञ्ज–३ स्थित हुक्कागाछी चोकमा राजवंशीलाई गाँजा सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका राजवंशीलाई छुटाउन घटनास्थल पुगेका उनीहरूले सादा पोसाक र इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी टोलीमाथि हातपातसँगै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी माथि हातपात गर्ने उनीहरूलाई अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।