झापा : नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री ओलीले गरेको संविधान सभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकोले अदालतले निष्पक्ष फैसला गर्नु पर्ने बताए ।

संविधानको रक्षा गर्ने जिम्मा न्यायमुर्तिहरुको रहेको बताउँदै कोही कसैको दबाबमा नलागी जनताको पक्षमा निष्पक्ष भएर फैसला गर्न न्यायधीशहरुलाई नेता सिटौलाले आग्रह पनि गरेका छन् ।

उनले प्रधानमन्त्रीले तानासाही प्रबृतिमा एकतर्फी रूपमा संविधान विघटन गरेर अलोकतान्त्रिक गतिविधि गरेको बताउँदै वर्तमान सरकारले कोभिडको क्षेत्रमा होस या गरिब जनताको पक्षमा कहिल्यै काम गर्न नसकेको दाबी गरे ।

नेपाली काँग्रेसले आज देशका ७७ वटै जिल्लामा विरोध सभाको आयोजना गरेको छ । यसै क्रममा काँग्रेस झापाले पनि आज दिउँसो सदरमुकाम चन्द्रगढीमा विशाल विरोध सभा सम्पन्न गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस झापाले आज चन्द्रगढीमा र्‍याली सहित विरोध सभा सम्पन्न गरेको हो ।

चन्द्रगढी स्थित जीपी कोइराला स्मृति भवन परिसरमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर देशलाई बरबादीतर्फ धकेलेको बताएका छन् ।