झापा : झापामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो खुला साइक्लिङ प्रतियोगिताको आयोजना गरिने भएको छ ।

‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ, भन्ने नाराका साथ जेनियम युवा क्लब धुलाबारीले साबिक मेची अञ्चलमै पहिलो पटक यही फागुन १५ गते ‘जेनियम साइक्लिङ च्यालेञ्ज २०२१’ प्रतियोगिता गर्न लागेको हो ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको छ । क्लबका अध्यक्ष धनराज थापाले स्थानीय युवाहरूको सक्रियतामा हुन गइरहेको यस प्रतियोगितामा दुई सय बढी प्रतियोगीले भाग लिने अनुमान गरिएको जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार, चौथोलाई ३ हजार, पाँचौँलाई २ हजार र छैटौँदेखि दशौँसम्मलाई एक हजार नगद सहित ट्रफी र आवश्यक गिफ्टहेम्पर पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव राजेश प्रसाईँले जानकारी दिए ।

प्रतियोगितामा भाग लिने महिलाले यात्रा पुरा गरेको खण्डमा उचित पुरस्कारको व्यवस्था पनि गरिएको उनले बताए । प्रतियोगिता धुलावारीबाट सुरु हुने र शान्तिनगर, बहबन, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, काँकडभिट्टा, इटाभट्टा हुँदै फेरि धुलावारीमा आएर समापन हुने आयोजकले जानकारी दिएको छ ।