धरान : नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले संसद् पुनर्स्थापनाको लागि पार्टी सभापति शेरबहादुर देउवाले गिरिजा प्रसाद कोइरालाको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

काँग्रेसले देशभर गरेको जिल्लाव्यापी बिरोधसभा कार्यक्रम अन्तरगत सोमबार धरानमा आयोजित सभालाई सम्बोधन गर्दै काँग्रेस हिरो हुने अवस्थामा रहेको बताए ।

कोभिड-१९ को सङ्क्रमण पछि पहिलो पटक सार्वजनिक समारोहमा सम्बोधन गरेका विश्वकर्माले काँग्रेस ऐतिहासिक मोडमा आएको धारणा राखे । इतिहास देखिनै देशमा विषम परिस्थिति हुँदा काँग्रेसले त्यसको समाधान गरेको स्मरण गर्दै उनले अब पनि काँग्रेसले निर्णायक आन्दोलन गर्नुपर्ने बताए ।

नेकपाका दुवै समूह हार्ने डरले निर्वाचनको पक्षमा नलागेको विश्वकर्माले प्रस्ट पारे । यस्तो परिस्थितिमा अदालतले आफ्नो विवेक प्रयोग गर्नुपर्ने भन्दै उनले संसद् पुनर्स्थापना भएन भने झनै आन्दोलन चर्काउने चेतावनी दिए ।