इटहरी : इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको विकासमा कुनै असर नपार्ने बताएका छन् ।

आज वडा नं ९ वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले इटहरीको विकासमा कुनै असर नगर्ने बताएका हुन् ।

उनले आफ्नो उपस्थिति कुनै समूहको भेला र बैठकमा नभएको पनि बताए । प्रमुख चौधरीले सम्पूर्ण ध्यान इटहरीको विकासमा लगाएकाले युद्ध स्तरमा विकास भइरहेको जानकारी दिए ।

इटहरीको विकासमा उल्लेखनीय जनसहभागिता रहेको भन्दै आगामी दिनमा पनि जनसहभागिताको अपेक्षा गरे । मेयरले वडा कार्यालय भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र तोकिएको समयमा काम सक्नुपर्ने बताए ।

वडा नं ९ का भूपेन्द्र बरालले वडा कार्यालय भवन निर्माण सहयोगका लागि उपमहानगर र जिल्ला समन्वय समितिलाई धन्यवाद ज्ञापन गरे ।

जिल्ला समन्वय समितिका सदस्य चिरञ्जीवी बस्नेतले भवन निर्माण समयमै सक्नुपर्नेमा जोड दिए । ७२ लाख २९ लागतमा बन्ने वडा कार्यालय भवनका लागि समन्वय समितिको ५० र बाँकी उपमहानगरको रहने वडा सदस्य गणेश केसीले जानकारी दिए ।