धरान : धरान-१२ चतरा लाइनमा रहेको पब्लिक हाई स्कुलले सरस्वती पूजाको अवसरमा तेस्रो बस थप गरी संचालन सुरु गरेको छ ।

२०७६ साउन महिना पहिलो बस र फागुनमा दोस्रो बस थपेको थियो । यो अहिले तेस्रो बस हो । तेस्रो स्कुल बसको धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदीले सुभारम्भ गरेका थिए ।

धरानभरिका विभिन्न ठाउँबाट विद्यार्थी पढ्न आउने भएकोले टाढाबाट आउने विद्यार्थीलाई सहज पार्न र विद्यार्थीको चाप कम पार्न अर्को बस थपेको विद्यालयका प्रधानाध्यापक इन्द्र मोहन झाले जानकारी दिए ।

उनले भने ‘अहिलेको तारगेट हेर्ने हो भने विद्यार्थीको चाप थेगिनसक्नु छ, दसैँसम्ममा अझै थप दुई वटा बस आउने सम्भावना बढेर गएको छ ।’ यहाँ कोटा होइन, कोठा अभाव छ, सरकारलाई भौतिक पूर्वाधारमा जोड दिन आग्रह गर्दछु ।

पब्लिक हाई स्कुललाई धरानको नमुना सरकारी स्कुल मानिन्छ । यस विद्यालयमा विभिन्न सङ्कायमा २३ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । प्लस टु मा मात्रै १३ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

प्रअ झाले भौतिक पूर्वाधारका लागि तीन वर्षभित्रमा पूरा गर्ने तयारीका अन्डरग्राउन्ड पार्किङसहितको सुविधा भएको ५ तले भवन बनाउने तयारीमा जुटेको बताए । कोटा भए पनि कोठा नभएपछि आफूहरू कोठा बढाउन लागिपरेको उनले बताए ।

उनले सरकारी स्कुलका विद्यार्थीले बस चढ्नै सक्दैनन् पनि भन्ने गरेको पाइएको तर यहाँ अध्ययनरत विद्यार्थी बस चढ्ने हैसियत राख्ने भइसकेको बताए ।

सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको पब्लिकले कक्षा-९ सम्म अङ्ग्रेजी माध्यममा अध्ययन अध्यापन थालेपछि विद्यार्थीको चाप थेगिनसक्नु हुँदै गएको प्रधानाध्यापक झाको भनाई छ ।