धरान : धरानको पुरानो सरकारी स्कुलहरू मध्ये एक धरान–१३ फुस्रे स्थित पब्लिक माध्यमिक विद्यालयको नयाँ भवन सवा करोड रुपयाको लागतमा निर्माण सुरु भएको छ । सरस्वती पूजाको साइतमा मङ्गलवार उपमहानगरपालिका मेयर तिलक राईले निर्माणाधीन भवनको शिलान्यास गरेका हुन् ।

निर्माणाधीन नयाँ भवन धरान उपमहानगरपालिकाको पहलमा सङ्घीय सरकारको विशेष अनुदानमा बन्न लागेको हो । कुल १ करोड २७ लाख १० हजार लागतमा भवन निर्माण गर्ने गरी आले निर्माण सेवा पाँचथरले ठेक्का टेन्डर पारेको छ । आउँदो असार मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको भवन ३ तलामा ९ कोठाको हुनेछ ।

शिलान्यासको अवसरमा मेयर राईले धरानका पुराना स्कुलहरूका भवन जीर्ण हुँदै गएकाले सबै स्कुलको भौतिक संरचनाहरू पुनः निर्माण र नयाँ निर्माण गर्नुपर्ने अवस्था देखिएको बताए । उनले भने ‘पब्लिक स्कुलको भवन उपमहानगरपालिकाको पहलमा केन्द्रीय सरकारबाट प्राप्त अनुदानमा बन्न लागेको हो ।’ उनले भवन निर्माणको बजेट समय भित्र काम सक्नुपर्ने सर्तमा आएको बताउँदै बजेट ल्याउनु, बजेट समयमा खर्च गर्नु चुनौतीको विषय भएको बताए ।

मेयर राईले उपमहानगरपालिकाको योजना प्रस्ताव अनुसार सङ्घीय सरकार, प्रदेश सरकार बाट प्राप्त कतिपय बजेट समयमा काम नसक्दा, हिसाब किताब फरफारक गर्न नसक्दा फिर्ता समेत जाने गरेको सुनाए । उनले भने ‘बजेट ल्याएर समयमै हरहिसाब फरफारक गर्न बिल भर्पाई नहुँदा रकम पाइरहेका हुँदैनौं काम भइसक्यो, पैसा फिर्ता जान्छ ।’ पछिल्लो समय सामुदायिक विद्यालयहरूको गुणस्तर बढेको विद्यार्थी सङ्ख्या बढेको उनले बताए ।

उपमेयर मञ्जु भण्डारीले सबैको सामूहिक प्रयासमा विद्यालय भवन निर्माणको काम सुरु भएको बताउँदै धरानका सबै सामुदायिक स्कुलहरूको भौतिक संरचनाहरू पुनर्निर्माण गर्नु पर्नेमा जोड दिइन् । व्यवस्थापन समितिका अध्यक्ष जन सेवक भण्डारीले उपमहानगरपालिकाको पहलमा भवन निर्माण हुन लागेको भन्दै खुसी व्यक्त गरे । वडाध्यक्ष नेत्र काफ्लेले भवन निर्माणको काम द्रुत गतिमा हुने विश्वास व्यक्त गर्दै वडा कार्यालयले नियमित अनुगमन गर्ने बताए ।

प्रधानाध्यापक पुरुषोत्तम निरौलाका अनुसार चालु आर्थिक वर्षको असार मसान्त भित्रमा भवन निर्माण सम्पन्न गरेर साउन पहिलो साता हस्तान्तरण गर्ने सम्झौता भएको छ । विद्यालयमा ४ सय ४५ जना विद्यार्थी छन् ।