धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

चिकित्सक तथा दन्त चिकित्सा कल्याण समाजले उपकुलपतिको कार्यकक्षमा आज तालाबन्दी गरेको हो । प्रतिष्ठानमा ३-३ महिनामा बढुवा हुनुपर्ने प्रावधान रहेको र पछिल्लो समय ६ महिनामा बढुवा गरिँदै आएको थियो ।

तर पछिल्लो समय ३ वर्ष देखि बढुवा रोकिएको र कोरोनाको उपचारमा खटिएका चिकित्सकहरूलाई कोरोना भत्ता अझै उपलब्ध नगरेको भन्दै चिकित्सक तथा दन्त चिकित्सा कल्याण समाजले केही दिन अघि देखि आन्दोलन गर्दै आएको समाजका पूर्व महासचिव डा. मधुर बस्नेतले बताए ।

बीपीमा सुविसुको इन्टरनेटमा व्यापक घोटाला भएको र विद्युतमा समेत घोटाला भइरहेको लगायतको मुद्दा उठाएर आन्दोलनरत रहेको समाजले १८ दिन अघि शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

उपकुलपतिको कार्यकक्षमा तालाबन्दी नगरी माग पुरा गर्ने भनिएकोमा अहिले सम्म पनि मागको सम्बोधन नभएकोले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्नुपरेको चिकित्सक तथा दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताए ।