धरान : बैतडीकी छात्रा भाभगरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ परेका हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधवार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तरराज सुवेदीले जानकारी दिए ।

बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत विद्यार्थी हुन् । भागरथीका दाइ केशवराज भट्टले बुधवार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराइसकेका छन् ।

’अभियुक्तले आफूले हत्या गरेको बयान स्विकारिसकेका छन्,’ डिआइजी सुवेदीले भने,’ घाँटी थिचेर मारेको बयान दिए पनि हत्या गर्नुको कारण उनले खुलाएका छैनन् । आरोपी दिनेशलाई प्रहरीले मङ्गलवार साँझ उनको घरबाटै नियन्त्रणमा लिएको थियो ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीय किशोरी भागरथीको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडक खण्डको लवलेक जङ्गलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।

वडा नम्बर ३ स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो ।