धरान : सुनसरीमा सरकारले दोस्रो प्राथमिकतामा राखेकाहरूलाई कोरोना विरुद्धको खोप लगाउने क्रममा बुधवार सम्ममा ३७ दशमलव ४ प्रतिशतले मात्रै खोप लगाएका छन् ।

यो प्रतिशत सुनसरी जिल्लामा दोस्रो प्राथमिकतामा परेकाहरूको कुल सङ्ख्या ७ हजार १ सय ६६ जना मध्येबाट २ हजार ६ सय ८२ जनाले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिए ।

दोस्रो प्राथमिकतामा परेकाहरूलाई आधार मानेर सुनसरी जिल्लाकै १२ वटै पालिकाहरूमा कोरोना विरुद्धको खोप केन्द्र तोकी खोप अभियान चलाइएको थियो । दोस्रो प्राथमिकतामा परेकाहरूमा सबै भन्दा कम पत्रकार र जनप्रतिनिधिहरूको सहभागिता रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका ४ पालिकाहरूमा थपियो खोप अभियान

सुनसरीका १२ वटा स्थानीय तहहरू मध्ये ४ पालिकाहरूमा फेरि खोप अभियान थपिएको छ ।

अरू पालिकाहरूले खोप अभियान नचाहिने बताएको र चार पालिका धरान उपमहानगरपालिकामा फागुन ६ गते एक दिन, इटहरी उपमहानगरपालिकामा फागुन ९ गते १ दिन, वराह नगरपालिकामा फागुन ७ गते १ दिन र इनरुवा नगरपालिकामा फागुन ९ र १० गते २ दिन खोप अभियान थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।