धरान : धरान उपमहानगरपालिकाको बुधवार बसेको कार्यपालिका बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

कार्यपालिका बैठकले फागुन ६, ७ र ८ गते तीन दिन प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयका परिपत्र अनुसार फागुन ६, ७ र ८ गते तीन दिन प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

परिपत्र अनुसार वडाहरूले पनि विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने, नगर तहमा ६ गतेदेखि नै विभिन्न कार्यक्रमहरू गर्ने, साँझमा दीप प्रज्वलन गर्ने, ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस सम्बन्धी उपमहानगरपालिकाको प्राङ्गणमा सभाको आयोजना गर्ने र ८ गते धरान रनमा ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ अङ्कित ब्यानरसहितको बेलुन उडाउने निर्णय भएको छ ।

धरान उपमहानगरपालिकाको घर नक्सा पास र बाटोको मापदण्डको समस्याहरूलाई सम्बन्धित महाशाखाले तयार गर्ने जनाएको छ । उक्त विषयमा यसअघि बनेको समितिले अध्ययन गरेर प्रतिवेदन दिएको वडा नं. १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईको संयोजकत्वमा त्यो समिति सहित छलफल गरेर निष्कर्षमा पुग्ने र त्यो कार्यपालिकामा लगेर पास गर्ने निर्णय भएको छ ।

उपमहानगरपालिकाको घर नक्सा फाँटमा कार्यरत कर्मचारीहरू कन्सल्टेन्सीमा आबद्ध भएको बैठकमा कुरा उठेको छ । अब देखि कर्मचारीहरू कन्सल्टेन्सीमा आबद्ध भएको पाइएमा कारबाही गर्ने निर्णय बैठकमा भएको छ ।

सो सम्बन्धमा उपमहानगरपालिकाले निगरानी बढाएको र अनावश्यक गुनासो सेवाग्राहीबाट आए कारबाही गर्ने पनि निर्णय भएको छ ।

यस्तै वडा नं. १९ को डेण्टल गेटदेखि पानी ट्याङ्की हुँदै इलाका प्रहरी कार्यालयसम्म आउने बाटोको विषयमा विगतमा फरक निर्णय भएको थियो ।

उक्त बाटोको नाम मुनामदन मार्ग भन्ने निर्णय भएको र अहिले आएर त्यहाँका स्थानीय, टोलवासीहरू र वडा समिति सहितको छलफल भएर उक्त बाटो मुनामदन मार्गबाट विकास मार्ग भनेर नामकरण गर्ने र मापदण्ड २० फिट कायम गर्ने निर्णय भएको छ ।

धरान-१८ स्थित रहेको डिपोट स्कुलको जग्गाको विषयमा समस्या रहेको छ । डिपोट स्कुलको जग्गा विगतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग भोगाधिकार स्कुलले लिएको र नेपाल सरकारले पछि आएर भोगाधिकारमा भएका जग्गाहरू सबै लिजमा दिनु भनेर सूचना आह्वान गरेको थियो ।

उक्त सूचना अनुसार स्कुल लिज प्रक्रियामा नगएपछि अहिले आएर उक्त जग्गा स्वतः नेपाल सरकारको नाममा गएको छ । डिपोट स्कुलको १३ बिघा १० कट्ठा ६ धुर जग्गा रहेको छ ।

जसमा स्कुलले इजि राइडर्स लाई लिजमा दिएको पश्चिम पट्टिको ३ बिघा जग्गालाई धरानको खेलकुद प्रयोजनका लागि खेलमैदानको रूपमा विकास गर्ने र विद्यालयको भौतिक संरचना रहेको, घेराभित्रको १० बिघा १० कट्ठा ६ धुर जग्गालाई लिज प्रक्रियामा समावेश गरिदिनका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ ।

यस्तै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेहरूका लागि सहजीकरण समिति बनाउने निर्णय भएको छ । जसमा नगर तहमा नगर प्रमुखको संयोजकत्वमा समिति बनाउने व्यवस्था भए बमोजिम पदेन सदस्यहरू बाहेकका सदस्यहरूलाई मनोनयन गरिएको छ ।

आयोगको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास स्थानीय तहबाट लगत सङ्कलन सम्बन्धी कार्यविधि २०७७ को सहजीकरण समितिको १ (घ) मा कार्यपालिकाको महिला सदस्यहरू मध्येबाट हीरादेवी राई र कल्पना मगर छन् भने १(ङ) अनुसार संयोजकले मनोनयन गरेका भूमि, आवास लगायतका क्षेत्रमा काम गरिरहेका सङ्घ संस्था, सङ्गठन वा नागरिक समाजका प्रतिनिधिबाट नेपाल बसोबास बस्ती संरक्षण समाज धरानका सचिव सुवास राई र समाजसेवी पञ्चकला राईलाई मनोनयन गरिएको प्रस्तावलाई कार्यपालिकाको बैठकले छलफल सहित पारित गरेको छ ।

नगर स्तरीय सहजीकरण समितिमा संयोजक नगर प्रमुख तिलक राई, उपसंयोजक उपप्रमुख मञ्जु भण्डारी सुवेदी, सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल र स्थानीय तहमा क्रियाशील राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख वा निजले तोकेका प्रतिनिधि पदेन सदस्य रहने छन् । साथै वडा वडामा पनि समन्वय समिति गठन गर्ने सहमति भएको छ ।

यस्तै १६ नं. वडालाई फागुन १६ गते बालमैत्री वडा घोषणा गर्न स्वीकृति दिने निर्णय भएको छ ।