धरान : सरकारले दोस्रो प्राथमिकतामा राखेकाहरूको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आज एक दिन धरानमा खोप लगाउने समय थपिएको छ ।

धरान उपमहानगरपालिकामा लक्षित १६ सय जना मध्ये बाट धरानमा ५४० जनाले मात्रै कोरोना विरुद्धको खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार पहिलो दिन ९० जना, दोस्रो दिन १ सय ९० जना र तेस्रो दिन बुधवार २ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

दोस्रो प्राथमिकतामा परेकाहरूमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, हुलाक, कर र यातायात व्यवस्था कार्यालयका कर्मचारी, जनपथ प्रहरी, सशस्त्र प्रहरी विओपीमा खटिएका मात्र, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, अदालतका न्याधिश लगायत न्याय सरकारी वकिल र पत्रकार रहेका छन् ।

धरानमा कोरोना विरुद्धको दोस्रो प्राथमिकतामा परेका १६ सय जनाले खोप लगाउने भनिएको थियो । जस मध्ये सशस्त्र प्रहरी बल नेपालका ३८ जना, पत्रकार १ सय ५० जना, जनप्रतिनिधि १ सय ५ जना, निजामती कर्मचारी ५ सय ९२ जना, नेपाल टेलिकमका कर्मचारी ३२ जना, खानेपानी संस्थान र बोर्डका ९५ जना कर्मचारी, नेपाल विद्युत प्राधिकरणका १ सय ३५ जना कर्मचारी र बैङ्क तथा वित्तीय संस्थाका ५ सय जनालाई नेपाल सरकारको दोस्रो प्राथमिकतामा राखेर धरानको पुरानो अस्पताल छाता चौकमा रहेको धरान स्वास्थ्य चौकीमा फागुन ३,४ र ५ गते ३ दिन कोरोना विरुद्धको खोप लगाइएकोमा आज थप एक दिन खोप लगाउने समय थपिएको हो ।

धरानमा जनप्रतिनिधिहरू र पत्रकार खोप लगाउन अत्यन्तै कम आएको बताइएको छ ।