धरान ः सुनसरी र मोरङमा भएको सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । 

सुनसरीको रामधुनी ३ बस्ने २२ वर्षीय सुरज चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।  गए राती पौने १० बजे रामधुनी राजमार्गमा को २ च ३३१२ नम्बरको पिक अप भ्यानले को ३१ प ३१४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीको विराट नर्सिङ होममा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पिक अप र चालक मोरङ सुन्दरहरैचाका दिल बहादुर कामी प्रहरी नियन्त्रणमा रहेका छन् । 

यस्तै मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीय रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । 

हिजो दिउसो सवा २ बजे बुढीगंगा २ राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते रम्वादेवीको विराट मेडिकल कलेज बुढिगंगामा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक र ट्रक चालक नवीन खवास र एम्बुलेन्स र एम्बुलेन्स चालक घनश्याम कुँवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।