धरान : पूर्व मन्त्री महेश आचार्यले अब जेसीजले मात्र होइन, देश विकासमा राजनैतिक पार्टीले पनि एक व्यक्ति एक पदको अवधारणा ल्याउनु आवश्यक रहेको बताएका छन। 

धरान जेसीजको ४५ औँ पदस्थापना कार्यक्रमका प्रमुख अतिथि आचार्यले समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नेतृत्वले भिजन सँगसँगै योजना कार्यान्वयनमा पनि उत्कृष्टता ल्याउनु पर्ने बताए । 

धरान जेसीजले नवनिर्वाचित पदाधिकारीहरूलाई पदस्थापित गर्न उक्त कार्यक्रम आयोजना गरेको थियो । वर्ष २०२० का अध्यक्ष दीपेन्द्र निरौलाले नवनिर्वाचित अध्यक्ष मणिराज अधिकारीलाई शपथ ग्रहण गराई पदभार सुम्पिएका थिए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा प्रदेश नं. १ का प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र धरान उपमहानगरपालिकाका मेयर तिलक राई रहेका थिए । राईले “धरान जेसीजले तालिमका माध्यमबाट साधारण व्यक्तिहरूको नेतृत्व र व्यक्तित्वमा विकास गर्न सफल रहेको” बताए । धरान जेसीजका पूर्व अध्यक्ष मोहन श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष मनिष शाहीले स्वागत मन्तव्य राखेका थिए ।

वर्ष २०२१ का लागि नवनिर्वाचित अध्यक्ष अधिकारीले महासचिवमा कृष्ण केसी, कोषाध्यक्षमा सलुजा श्रेष्ठ, कानुनी सल्लाहकारमा विदुर थापा, आर्थिक सल्लाहकारमा वर्षा अग्रवाल तथा तालिम ईन्स्टिच्यूटको निर्देशकमा सन्जु राईलाई मनोनीत गरेका थिए ।

त्यसै गरी धरान जुनियर जेसीजको वर्ष २०२१ का लागि साहिल भुजेल पदस्थापित भएका थिए । साथै उक्त कार्यक्रममा धरान जेसीजको भवन निर्माणका लागि सहयोगी दाताहरूलाई सम्मान पत्र समेत वितरण गरिएको थियो ।