धरान : ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् ।

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु शुभकामना मन्तव्यमा भनिएको छ ।

आजको यस ऐतिहासिक घडीमा एकतन्त्रीय जहाँनीय राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्रको बीजारोपण गर्नका लागि हाँसी हाँसी छातीमा गोली थापी मृत्यु वरण गर्ने चार शहीद लगायत त्यस प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिहरूको जगमा उभिएर निरन्तर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि भएको सङ्घर्ष र आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सबै महान् वीर शहीदहरूलाई स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली सहित श्रद्धा सुमन अर्पण गर्दछु सन्देशमा भनिएको छ ।

२००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता प्राप्ति गरेको ऐतिहासिक दिनको सम्झनामा ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहेका छौँ भन्दै सन्देशमा भनिएको छ, आज हामीहरू संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै, मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय र आर्थिक समृद्धि सहितको समाजवादका बलिया आधारहरू निर्माण गर्दै राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको झन्डालाई अझ माथि उठाउँदै, अझ त्यसलाई सबल र सुदृढ गर्दै नव नेपाल निर्माणको ऐतिहासिक अभिभारा बोकेर, विशाल एवम् फराकिलो यात्रामा सहभागी भइरहेका छौँ ।

सन्देशमा मुलुक यति बेला विकास र आर्थिक समृद्धिको नयाँ युगमा छ । समृद्धिको यात्रा फराकिलो बनेको छ । “समृद्ध नेपाल सुखी नेपाली” नेपाली जनताको साझा राष्ट्रिय आकांक्षा र लक्ष्य तय भएको छ । हामीहरू यस प्रदेशमा प्रदेश आवधिक योजनाको तर्जुमा गरी स्वच्छ, सुखी र समुन्नत प्रदेशको अवधारणा सहित राष्ट्रिय आकांक्षामा आबद्ध भएका छौँ भनिएको छ ।

समृद्धिको सु स्पष्ट र फराकिलो यात्रामा प्रदेशवासीहरू मात्र होइन सम्पूर्ण नेपाली जनताहरू त्यस यात्रामा जोडिनु भएको भन्दै सन्देशमा तीन तहका सरकारहरू नेपाली जनताको राष्ट्रिय आकांक्षामा आबद्ध भएर सहकार्य, समन्वय गर्दै अगाडी बढी रहेका छन् ।

आजको दिनले हाम्रा साझा राष्ट्रिय आकाँक्षा प्राप्तिको गन्तव्यमा पुग्नको लागि थप ऊर्जा र प्रेरणा मिल्ने मैले विश्वास लिएको छु मुख्यमन्त्रीको सन्देशमा भनिएको छ ।

प्रदेशको नामाङ्कन गर्न बाँकी छ रहेको र यसै अधिवेशनबाट नामाङ्कन टुङ्ग्याउनु छ संगसगै जनताका अपेक्षाहरूलाई सम्बोधन गर्दै स्वच्छ सुखी र समुन्नत प्रदेशको प्रादेशिक आकांक्षा सहित हामीले सुरु गरेका विकास र समृद्धिका कामहरूलाई सम्पन्न गर्दै पनि जानु छ, भन्दै सन्देशमा प्रदेश संरचनालाई बलियो र प्रभावकारी संरचनाको रूपमा संस्थागत गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ त्यसैले सबैलाई गम्भीर बन्न र गहिरो जिम्मेवारी बोधका साथ भूमिका खेल्न समेत आजको यस अवसरमा म आव्हान गर्न चाहन्छु भनिएको छ ।