धरान : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् ।

नेता पौडेलले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा धरान उपमहानगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले जनताले दिएको मतको आज केपी ओलीको सरकारले लत्त्याउँदै लोकतन्त्रमाथि नै खतरा निम्त्याएको आरोप लगाए ।

उनले ओलीको संसद् विघटनका कारण नेपाली जनता, पार्टीका कार्यकर्ता माथि धोका भएको बताउँदै लोकतान्त्रिक संविधानलाई सडकमै फाल्ने काम भएको बताए । उनले संविधानमा कहीँ कतै उल्लेख नभएको कुरा केपीले गरेको आरोप समेत लगाए ।

उनले आन्तरिक द्वन्द्व र कुर्सी मोहका कारण अहिलेको जटिल परिस्थिति सिर्जना भएको बताए । उनले यस कदमलाई ‘ऐतिहासिक कदम’को संज्ञा दिए । उनले प्रदेश नं. १ प्रति सङ्केत गर्दै प्रदेश सरकारमा समेत संसदीय अभ्यास नभएको आरोप लगाए ।

प्रदेश सरकारमा समेत कम्युनिष्टहरुमा कुर्सीको खेल भएको आरोप लगाउँदै पौडेलले सर्वोच्च अदालतले पनि सोच विचार गरेर फैसला गर्ने विश्वास गर्दै अदालतको निर्णयलाई नेपाली काँग्रेसले स्विकारेर जाने बताए ।

यस्तै वरिष्ठ नेता पौड्यालले प्रजातन्त्र दिवसकै अवसर पारेर धरान १३ र २० को संगमस्थलमा मा रहेको बीपी पार्कको उद्घाटनसँगै त्यहाँ निर्माण गरिएको बीपीको सालिक अनावरण समेत गरेका छन् ।

Prajantntra-Diwas