धरान : प्रदेश १ को इलाम, झापा र सुनसरीमा भएको तीन छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ ।

इलामको माई नगरपालिका ७ साँगुरी टोलका ४७ वर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको छ । हिजो दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यसै गरी झापा मेचीनगर १३ धाईजन बस्ने ३८ वर्षीय अनन्त आचार्यको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।

शुक्रवार बेलुका साढे ७ बजे मेचीनगर १३ चारआलि स्थित पूर्व पश्चिम लोक मार्गमा मे ११ प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका मे ११ प ४४७८ नम्बरको मोटरसाइकल चालक अनन्त आचार्यको वि एन्ड सी अस्पताल बिर्तामोडमा उपचारकोक्रममा गए राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्को मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार २ जना समेत घाइते भई उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरमा गए राती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
गए राती पौने ११ बजे ईटहरीबाट दुहबी तर्फ जाँदै गरेको को १९ प ६९७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको BR 01-GC 0341 नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक बुढिगंगा गाउँपालिका ४ का २७ वर्षीय राजन चौधरीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले नियन्त्रणमा लिएको छ ।