धरान : बिपी प्रतिष्ठानको खानेपानी व्यवस्थापन धरान खानेपानी बोर्ड मार्फत हुने भएको छ । खानेपानी ब्यवस्थापका बारेमा धरान उपमहानगरका पदाधिकारी र बिपी प्रतिष्ठानका पदाधिकारीबिच छलफलमा यस्तो सहमति भएको हो ।

मंगलबार बसेको दुई पक्ष छलफलबाट प्रतिष्ठान सैद्धान्तिक रूपमा धरान खानेपानी व्यवस्थापन बोर्डसँग सहकार्य गरेर पानी व्यवस्थापन गर्न प्रतिष्ठान सहमत भएको छ ।

धरान उपमहानगरका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल, विपद् तथा वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे र आयोजना बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलसहितको टोली र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर, रजिस्ट्रार र प्रतिष्ठानका इञ्जिनियरहरुसँग खानेपानीको बारेमा छलफल गरेका हुन् ।

धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बिपी प्रतिष्ठानका पदाधिकारीहरूसँग खानेपानीको बारेमा छलफल गरिएको जानकारी दिए ।

उनका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति, रेक्टर, रजिस्ट्रार र प्रतिष्ठानका निर्देशकसँग खानेपानीको बारेमा छलफल भयो त्यो छलफलमा विषेशगरी प्रतिष्ठानको मातहतमा रहेका जुन जुन संरचनाहरू छन्, खानेपानी संस्थानले मर्मत नगरेको, मर्मत नभएका कारण जति प्रोडक्सन हुनुपर्ने, प्रतिष्ठानको मातहतमा रहेका संरचनाहरूको नेपाल खानेपानी संस्थानले मर्मत नगरेको र मर्मत नभएका कारण पानी उत्पादन गर्न सक्ने अवस्थामा नभएको, प्रतिष्ठानको संरचनाहरू जीर्ण बन्दै गएको, खानेपानी संस्थानको प्रमुख, बोर्डको दुई जना इन्जिनियर र प्रतिष्ठानको दुई जना इन्जिनियरसहितको टोलीले दिएको रिपोर्टमा अल्पकालीन रूपमा तुरुन्तै गर्नुपर्ने कामहरूको विश्लेषण पनि गरिएको छ । अल्पकालीन रूपमा इलेक्ट्रोमेकानिकल कामहरू र मर्मतका कामहरू गर्न लगभग ५० लाख जति लाग्ने अनुमान गरिएको छ भने दीर्घकालीन रूपमा दुई वटा ट्यू वेल बनाउनै पर्ने देखिएको छ ।

यो विषयहरूमा अब प्रतिष्ठानले गर्ने र सैद्धान्तिक रूपमा धरान खानेपानी व्यवस्थापन बोर्डसँग सहकार्य गरेर धरान खानेपानी व्यवस्थापन बोर्डले पानी सञ्चालन गर्न प्रतिष्ठान सहमत भएको बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलको भनाई छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डले हाल संस्थान र आयोजनाको संरचना प्रयोग गरेर धरानवासीलाई पानी वितरण गर्ने तयारी गरिरहेको पोखरेलले बताए ।