इटहरी : इटहरी उपमहानगरमा प्रमुख द्वारिकलाल चौधरीले आफूहरुको कार्यकालमा इटहरीको ग्रामीण क्षेत्रका सबै मूलबाटोहरू कालोपत्रे गरिसक्ने बताएका छन् । 
इटहरी वडा नम्बर ४ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चौधरीले सो दाबी गरेका हुन ।

वहुवर्षिय सडक योजना अन्तर्गत गाउँ गाउँका मूलबाटोहरू धमाधम कालोपत्रे भइरहेको उनले बताए । चौधरीका अनुसार पाँच वटा मूलबाटो कालोपत्रे भइसकेका छन् भने अरू योजनामा धमाधम काम भइरहेको छ ।

गाउँलाई सहर सँग जोड्दै ग्रामीण जनतालाई उपमहानगरवासी भएको अनुभूति हुन थालेको उनको भनाई छ । नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपरेको उनको दाबी छ ।

आफ्नो सम्पूर्ण ध्यान इटहरीको विकासमा भएकाले यो वर्ष गत वर्षहरू भन्दा बढी विकास भएर इटहरीको विकास र सम्वृद्धिले नयाँ उचाइ प्राप्त गर्ने समेत बताए । 
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणकार्यको गुणस्तरमा कुनै सम्झौता नहुने बताइन । 
उनले जनतालाई आफ्नै भवनबाट सेवा प्रदान गर्न वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिइएको बताइन ।

वडा कार्यालय शिलान्यास कार्यक्रममा वडाध्यक्ष चन्द्र भट्टराईले इटहरी वडा नम्बर ४ मा विकास निर्माण कार्यले तीव्रता पाएको बताए । वडा नम्बर ४ को वडा कार्यालय भवन ८६ लाख ४४ हजार ४ सय ४४ रुपियाँको लागतमा निर्माण हुने छ ।

केही दिन अघि मात्र वडा नम्बर ८ को वडा कार्यालय भवन शिलान्यास गरिएको थियो ।  वडाध्यक्ष रोहित चौधरीकी आमा सविता चौधरीले दिएको २२ धुर जग्गामा वडा कार्यालय भवन शिलान्यास गरिएको हो ।

इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार इटहरीमा आठ वटा वडा आफ्नै भवनमा छन् भने यो आर्थिक वर्षमा आठ वटा भवन निर्माण हुने छन् ।

बाँकी चार वटा वडाको वडा कार्यालय भवन अर्को आर्थिक वर्षमा निर्माण गरिने उनले जानकारी दिए ।