धरान : कम्युनिस्ट सरकारले असंवैधानिक रूपमा विघटन गरेको संसद् सर्वोच्च अदालतबाट पुनर्स्थापना भएकोले अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्ने माग काँग्रेसका अगुवाहरूले गरेका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै बुधवार भानुचौकमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति तिलक राईले भने ‘अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नु पर्दछ ।’

दुई तिहाइ बहुमत हुँदाहुँदै कम्युनिष्टहरुले पार्टी भित्रको झगडाको नाममा देशमा अराजक अवस्था ल्याउने काम गरेको आरोप लगाउँदै उनले कम्युनिस्टहरू लोकतान्त्रिक पद्धतिमा शासन गर्न सक्दैनन् भन्ने साबित भएको बताए । उनले भने ‘कम्युनिष्टहरुले जनताको विश्वास गुमाई सकेकाले मुलुक र संविधान लाई लोकतान्त्रिक पद्धति बाट अघि बढाउन अब काँग्रेसले सरकारको नेतृत्व लिनु पर्दछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभा भङ्ग गरेकै दिन पुस ५ गते नेपाली काँग्रेसले विघटनको विरोध गर्दै पुनर्स्थापनाको माग गरेको उनले स्मरण गराए । संसद् विघटन गरे लगत्तै प्रधानमन्त्रीले थप असंवैधानिक काम गर्न थालेपछि नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले संसद् पूनःस्थापनाका लागि आन्दोलन निर्णय गरेको उनले बताए ।

Deep-prajawan

संसद् पुनर्स्थापनाको माग सहित काँग्रेसले देशव्यापी रूपमा सुरु गरेको आन्दोलनलाई नेपाली जनताले व्यापक रूपमा साथ दिएको उल्लेख गर्दै उनले भने ‘असंवैधानिक कदमको विरोधले जिल्ला, नगर देखी वडा स्तर सम्म भएको जनताको सहभागिताले कम्युनिस्टप्रति जनताको विश्वास उठेको साबित भएको छ ।'

उनले काँग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सत्तामा आए लगत्तै भनेको कुरा उद्धृत गर्दै उनले भने ‘कम्युनिस्टको सरकारले नेपाली जनता लाई बोल्न, हाँस्न र रुन पनि दिँदैन ।’

कम्युनिस्टको झगडाकै कारण असंवैधानिक रूपमा संसद् विघटन गरिएपछि जनताको बलिदानी सङ्घर्षले ल्याएको संविधान नै खतरामा परेको उनले बताउँदै उनले भने ‘संविधानको रक्षाका लागि सर्वोच्च अदालतले संविधानलाई अक्षरशः पालना गराउन फैसला गरेकाले संविधान क्रियाशील हुने अवस्था आएको छ ।’ यसका लागि सर्वोच्च अदालत, न्ययाधिशहरु तथा बहसमा भाग लिने कानुन व्यवसायीहरू धन्यवादको पात्र भएको उनले उल्लेख गरे ।

भानुचौक स्थित भानुभक्तको सालिक अघि गरिएको दीप प्रज्वलनमा काँग्रेस पदाधिकारी, भातृ सङ्गठनहरू सहित कार्यकर्ताहरूको सहभागिता थियो ।

काँग्रेस नगर सचिव श्याम पोखरेलले धरान उपमहानगरपालिकाले भानुचौक क्षेत्रमा सार्वजनिक कार्यक्रम नगर्ने नियम बनाए पनि संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसलाको स्वागत गर्न भानुचौकमा गर्न उपयुक्त भएको बताउँदै क्षमा याचना गरे । उनले भने ‘अब उपरान्तका कार्यक्रमहरू नेपाली काँग्रेसले भानुचौकमा आयोजना नगर्ने प्रतिबद्धता जाहेर गर्दछ ।’