धरान : सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि धरानमा नेकपा ओली पक्षका नेता कार्यकर्ताहरूले अब कसरी अगाडी बढ्ने भनेर भन्ने विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन पछि अनौपचारिक रूपमा विभाजित भएर गाउँ-गाउँमा सङ्गठन विस्तार र कमिटी निर्माणलाई तीव्रता दिएको नेकपा ओली समूहले धरानमा कार्यकर्ता र नेता बिच अन्तर्क्रिया गरेको हो ।

अन्तरक्रियामा बोल्दै धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुवेदीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्ने बताइन । उनले भनिन् 'कानुनी पाटो एक ढङ्गले टुङ्गिएको छ अब गणितको अध्याय सुरु भएको छ, गणितमा प्लस, माइनस, भाग गुणा जे पनि हुन सक्छ ।'

धरानमा रहेका नेकपा ओली पक्षका केन्द्रीय नेता मुरारी सुवेदीले देश थप दुर्घटना नजाओस् भन्ने प्रधानमन्त्रीको चाहाना रहेको बताउँदै कम्युनिस्टको सरकार ढालेर गैर कम्युनिस्टको सरकारको तयारीमा जाने अबको निर्णय भएको र यो कम्युनिस्टको इतिहासमा यो सबैभन्दा दुर्भाग्यको विषय भएको बताए ।

पार्टीको आन्तरिक सुद्धिकरण र व्यवस्थापनको लागी प्रधानमन्त्रीले केन्द्रमा संसद् विघटन गर्न बाध्य भएको उनले बताए ।

अन्तरक्रियामा स्थानीय मजदुर नेता शिव तामाङले राजनीतिक परिघटनाले नआत्तिएको बताउँदै कार्यकर्ताको मनोबल स्थिर रहेको र नेतृत्वहरू दृढ हुनु पर्ने सुझाव दिए ।

धरानकी महिला नेत्री लहरु जिमीले आफूहरू ठिक ठाउँमा रहेकाले आत्तिने अवस्था नरहेको बताइन । “हामी ठिक ठाउँमा छौ सरकारका हरेक कदमलाई सहयोग गर्ने भनेर आन्दोलनमा होमिएका हौँ । ’’

पार्टीका केन्द्रीय नेता विजय राई, मोती सुनुवार र जन वर्गीय सङ्गठनका नेता कार्यकर्ता पनि बोलेका थिए ।