धरान : सर्दु खोला स्थित वीपी पार्कमा सरकारको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकाश समितिले आधुनिक सुविधायुक्त सरसफाइको दृष्टिले सुरक्षित पर्यटकीय शौचालय निर्माण कार्य सुरु गरेको छ ।

पार्कमा दैनिक आउने आगन्तुको चाप बढेपछि सरसफाइको हिसाबले सुरक्षित शौचालय बनाउन जरुरी भएको हुँदा धरान उपमहानगरपालिकाको प्रस्तावमा समितिले निर्माण कार्य सुरु गरेको हो ।

अहिले पार्कमा भएको सुलभ शौचालयको रिङ राखेर शक पिट बनाइएको २ कोठाको शौचालय छ । सरसफाइको दृष्टिले शौचालय अव्यवस्थित छ ।

पार्कमा आउने आगन्तुकहरूको सङ्ख्या बढ्दै गएकाले सिमेन्टको प्लास्टर गरिएको शक पिट सहितको सुरक्षित शौचालयको डिजाइन अनुसार आधुनिक शौचालय बन्न लागेको बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले जानकारी दिए ।

नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार १ हजार स्क्वायर फिटमा बन्न लागेको शौचालयमा पुरुषका लागि २ ट्वाइलेट, ५ युरिनल, महिलाका लागि ३ ट्वाइलेट रहने छ ।

अपाङमैत्री ट्वाइलेट १ कोठा सहित एउटा सर्भिस रुम पनि हुनेछ । शौचालयको शक पिटमा फोहोर जम्मा भएपछि अन्यत्र लगेर डम्पगर्न मिल्ने गरी सिमेन्टको प्लास्टर गरी बनाइने छ । डिजाइन र निर्माणको टेन्डर सरसफाइ कोषले नै गरेको हो ।

समाचारले भ्रम फैलायो, मैले मनपरी गरेको छैन : मेयर राई

मेयर राईका अनुसार पार्कमा शौचालय आवश्यक भएको बारेमा वडा कार्यालय, स्थानीय समुदाय, आमा समूह समेतको भेलाले छलफल गरी उपमहानगरपालिका सँग सम्झौता गरेपछि योजना कार्यान्वयनका लागि निर्णय गरिएको हो ।

भेलाले गरेको छलफलको माइन्युट निर्माण स्थलमा सञ्चालित ओशो आश्रमका सञ्चालक आनन्द श्रेष्ठले गरेका हुन । तर यसबारे स्थानीय दैनिक ब्लाष्ट पत्रिकामा प्रकाशित समाचारले भ्रम पैदा गरेको उनको भनाई छ ।

धरानका लागि प्रस्तावित यस्ता ३ परियोजना मध्ये एउटा उपमहानगरपालिको सिफारिसमा धरान-१२ स्थित पब्लिक हाई स्कुलमा निर्माण हुने मेयर राईले बताए ।

धरान-धनकुटा सडकको शुरुविन्दुमा बनाउने योजना वेश क्याम्प तथा वरपर बनाउने भनिए पनि जग्गा नपाएपछि वीपी पार्कमा प्रस्ताव गरिएको हो ।

तेस्रो योजना सेउती पुलमा बनाउने भए पनि सरसफाइ कोषले नै कटौती गरेको उनले बताए । उनले भने ‘पर्यटकीय स्थलको विकासका लागि नगरपालिकाले गरेको सही निर्णयप्रति व्यक्तिगत पूर्वाग्रही सोच राख्न नहुने सबैसँग आग्रह गर्दछु ।’

पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरुले पार्कमा अहिले पिसाब गरेको मात्र १० रुपैयाँ लिने गरेको तथा त्यहाँको आम्दानीको हिसाब किताबका साथै स्थानीय समुदायले निर्माण गरेको मलामी खाजा घर ओशो आश्रमले कब्जा गरी मलामीका लागि प्रयोग गर्न नदिँदा विवाद चल्दै आएको बारेमा प्रश्न गरेका थिए ।

मेयर राईले योग अभ्यास सञ्चालन आवश्यक बताउँदै तर त्यस्ता संस्थाहरूले स्थानीय सरकार सँग सहकार्य गरी पारदर्शी र व्यवस्थित हुन जरुरी भएको बताए । नक्सा अनुसार निर्माण स्थलको ठाउँ उत्तरतिर सार्न लगाई आश्रमका युवाहरूले रुख कटाएको कामदारहरूले बताएको उल्लेख गर्दै उनले भने ‘रुख काटिएको कुरा समाचारमा लेखिएको पढेपछि मात्र थाहा पाउँदा बढो दुःख लाग्यो र कसरी काटियो सोध्नु पर्‍यो ।’

मेयर राईले पत्रकार सम्मेलनमा समाचारमा भ्रम फैलिने गरी मेयरको मनपरी भनिएकोमा खण्डन गर्दै आफूले मनपरी नगरेको बताए ।