इटहरी : जनता माध्यमिक विद्यालयको जग्गामा निर्माण गर्न लागिएको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को भवन विवादमा आएको छ । विद्यालयको जग्गा अनधिकृत प्रयोग गर्न नहुने र पायक पर्ने स्थानमा कार्यालय भवन नभएको भन्दै विवाद उत्पन्न भएको हो ।

यहीँ फाल्गुन १२ गते मेयर द्वारीकलाल चौधरीले शिलान्यास गरेको भवनको काम केही महिनापछि सुरु हुने भएको छ । उता वडा भवन बनाउनको लागी बनेको अध्ययन समितिले भने त्यसमा आपत्ति जनाएको छ ।

भवन बनाउनको लागी ४ नम्बर वडा कार्यालय भवन निर्माण तथा अध्ययन समिति बनेको थियो । गत असोज १० गते विभिन्न राजनैतिक दल तथा नागरिकहरूको अगुवाइमा समिति बन्यो । नेकपाका स्थानीय नेता जनक कार्कीको संयोजकत्वमा बनेको समितिले चौधरी टोलमा रहेको पोखरीलाई संरक्षण हुने गरी भवन निर्माण गर्ने सुझाव दिएको थियो । उक्त जग्गामा कुनै कानुनी जटिलता देखिए मात्र अरू स्थानमा जग्गा खोजी गर्नुपर्ने समितिको सुझाव थियो ।

तर वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले पोखरी मास्न नहुने भन्दै जनता माविकै जग्गामा वडा भवन बनाइने अडान लिए । सोही बमोजिम भवन शिलान्यास भएको हो ।

यता समितिले भने वडाध्यक्ष भट्टराईले स्च्छाचारी ढङ्गले काम गरेको समितिको आरोप लगाएको छ । तत्कालीन नेकपा एमालेको घोषणापत्रमा पनि पोखरीमै वडा कार्यालय बनाउने उल्लेख भएको हुँदा त्यही बनाइनुपर्ने समितिको दाबी छ ।

समितिको तर्पबाट कार्की सहित नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार कमल राई लगायत सूर्य बराल, दीपक गौतम, बालकृष्ण कार्की, सूर्य राई, रुद्र आचार्य, विश्वेश्वर पोखरेल, सुनिल कार्की, डम्बर बराइली, सोनालाल चौधरी, नवीन चौधरी र रोशन चौधरीले हस्ताक्षर गरेर आपत्ति जनाएका छन् ।

उता वडाध्यक्ष भट्टराई भने सबैलाई पायक पर्ने खुल्ला स्थान खोज्ने क्रममा जनता माविकै जग्गा उपयुक्त भेटिएको तर्क गरेका छन् । पोखरी मास्न पनि नपर्ने र उपर्युक्त पनि हुने भएकोले सही निर्णय गरिएको उनको दाबी छ ।