झापा : सवारी चालकलाई मुद्दा चलाएको विषयमा यातायात व्यवसायीहरू आन्दोलित भएका छन् ।

गत माघ ५ गते पूर्वपश्चिम लोक मार्ग अन्तर्गत मोरङको गोठगाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा प्रदेश १ ०० १ ख ३४३३ नम्बरको सार्वजनिक बसका चालक रमचन्द्र गिरीलाई पुर्पक्षका लागि कारागार पठाइएको भन्दै यातायात व्यवसायी तथा मजदुरहरू आन्दोलित भएका हुन् ।

उनीहरूले झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरी चरणबद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । विपरीत दिशाबाट आएको को २ च २३१९ नम्बरको कारका चालक बाघधन राईले लापरबाहीपूर्वक सवारी चलाएको र घटनास्थलको स्केच तयार पार्दा ट्राफिक प्रहरीले गम्भीर त्रुटि गरेको फेला परेका कारण आफूहरू आन्दोलित भएको उनीहरूको गुनासो छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन सङ्घका अध्यक्ष मदन खड्काले राज्यले यातायात मजदुर र यातायात व्यवसायीलाई गर्ने व्यवहारमा सुधारको खाँचो औँल्याएका छन् । यस्तै यातायात व्यवसायी विश्वास काश्यपले राजमार्गमा गुड्ने साना सवारीले चाहिँ कहिल्यै गल्ती नै नगर्नेजस्तो व्यवहार ट्राफिक प्रहरीबाट भइरहेको भन्दै रोष प्रकट गरे ।

यातायात व्यवसायी गङ्गा सिटौलाले सवारी दुर्घटनामा जहिले पनि ठुलो सवारीकै दोष देखाउने गरिएको भन्दै यस्तो सोच फेरिन आवश्यक रहेको उल्लेख गरे ।

मोरङको गोठगाउँमा भएको दुर्घटनामा दोषी देखिने कार चालक राईलाई उन्मुक्ति दिइएको विरोधमा उनीहरूले शनिवार ९ बजे देखी १० बजेसम्म प्रदेश १ भरी साङ्केतिक बन्द गर्ने, आइतबार ट्राफिक प्रहरी चौकी गोठगाउका प्रमुखलाई जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्ने लगायतका अन्य विरोधका कार्यक्रमहरू पनि सार्वजनिक गरेका छन् ।

आफ्ना माग पुरा नभए यातायात व्यवसायीको छलफलबाट पूर्ण रूपमा सार्वजनिक सवारीका साधन स्वतःस्फूर्त रूपमा बन्द गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।