झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १६ गते शिलान्यास गर्ने चिन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रेस सङ्गठन नेपाल झापाद्वारा दमकमा आयोजित पत्रकार सम्मेलनमा पार्कका अध्यक्ष गोविन्द थापाले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् ।

उद्योग शिलान्यास कार्यक्रमका लागि ठाउँ ठाउँमा स्वागत द्वार देखी लिएर कार्यक्रम स्थलमा बिद्युत सेवा र इन्टरनेट व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको जानकारी गराए । थापाका अनुसार कार्यक्रममा विभिन्न जातजातिका झाँकीसँगै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ ।

यस्तै पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रदेश १ अध्यक्ष देवराज घिमिरेले झापामा निर्माण हुन लागेको औद्योगिक पार्कले नेपालको बेरोजगारी समस्या केही हदसम्म हल गर्ने धारणा राखे ।

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपालको नारा साकार पार्न यस औद्योगिक पार्कले इँटा थप्ने काम गर्ने उल्लेख गरे । स्थानीयको प्रत्यक्ष सहभागितामा निर्माण हुने औद्योगिक पार्क झापाका लागि मात्र नभएर प्रदेश १ र सिङ्गो देशकै लागि गौरबको विषय रहेको उनको भनाइ छ ।

एक प्रदेश एक औद्योगिक क्षेत्रको अवधारणा अनुसार प्रदेश १ मा झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका चिन नेपाल मैत्री औद्योगिक पार्क निर्माण हुन लागेको हो ।

प्रेस सङ्गठन नेपालको आयोजना भएको पत्रकार सम्मेलन सङ्गठनका झापा अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रेस सङ्गठन झापाका सह संयोजक मनकुमार गदाल, सदस्यहरू सुदिप अधिकारी, रुपा बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।