धरान : प्रचण्ड-माधव समूहको नेकपा धरान उपमहानगरले धरानको खानेपानी समस्याको समाधानको विषयमा निर्णय गर्न नसकी नगर सभा स्थगित भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा धरान उपमहानगरको शुक्रवार बसेको विस्तारित बैठक पछि जारी विज्ञप्तिमा बैठकले विगतमा भएको निर्णयहरू कार्यान्वयन र खानेपानी संस्थान धरान शाखाको संरचनाहरू धरान खानेपानी व्यवस्थापन बोर्डले जिम्मा लिन ढिलाइ भइरहेको प्रति पनि गम्भीर ध्यानाकर्षण गर्दै तत्काल जिम्मा लिन संस्थानको संरचना र कर्मचारी समायोजन पश्चात् खानेपानी सँग सम्बन्धित सम्पूर्ण कार्य बोर्डले गर्नुपर्ने उल्लेख छ ।

हाल धरान खानेपानी व्यवस्थापन बोर्डले न्यूनतम महसुल २२० लिइरहेकोमा धरान खानेपानी संस्थान समायोजन पश्चात् न्यूनतम महसुल ११० कायम गर्नुपर्ने, धरान खानेपानी व्यवस्थापन बोर्डले हाल प्रति युनिट ३० लिँदै आएकोमा सो शुल्क २५ रुपैयाँ कायम गर्न जोडदार माग विज्ञप्तिमा गरिएको छ ।

नेकपाका अध्यक्ष नारायण सुबेदी र सुदर्शन श्रेष्ठद्वारा हस्ताक्षरितता सो विज्ञप्तिमा खानेपानी संस्थान धरान शाखाको स्वामित्वमा रहेको सम्पत्ति दायित्व तत्काल जिम्मा लिई उक्त संरचनाहरू तत्काल मर्मत सम्भार तथा निर्माण गरी आयोजनाको नयाँ संरचनामा इन्टर कनेक्सन गरी धरान खानेपानी व्यवस्थापन बोर्ड मार्फत सञ्चालन गरिनु पर्ने, हाल २ वटा संस्थाले खानेपानी महसुल लिई रहेको सन्दर्भमा अब धरान खानेपानी व्यवस्थापन बोर्डको काउन्टर स्थापना गरी खानेपानी व्यवस्थापन बोर्ड मार्फत मात्र महसुल लिने व्यवस्था मिलाउनु पर्ने र धरान खानेपानी व्यवस्थापन बोर्डको बैठक तत्काल बसी विगतका निर्णयहरू कार्यान्वयन गर्न र माथिका मागहरू पुरा गर्न जोडदार माग गर्दछौ विज्ञप्तिमा भनिएको छ ।

Nekapa-Bigyapti