धरान : माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समाप्त हुने दिन ।

आज एक महिने ’स्वास्थानी व्रत’को समापन गरिँदैछ । नेपाली सनातन समाजमा हरेक वर्ष पौषशुक्ल पूर्णिमामा शुरु गरी माघशुक्ल पूर्णिमा सम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा रहेको छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि श्रीविष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गर्नुभएकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी स्वस्थानी मातालाई अर्घ्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ ओटा पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभए मनोकामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने प्रचलन रहेको छ ।

एकतीस अध्याय रहेको यस कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने एवं मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गरिएको छ । श्रीस्वस्थानी परमेश्वरीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगब्याध ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा समयका प्रभावले पानी शुद्ध र स्वच्छ हुने उल्लेख गरिएकाले यस अवधिमा सात्विक भोजनका साथै बिहान स्नान गरी श्रीस्वस्थानीको पूजापाठ गर्नाले ठूलो लाभ प्राप्त हुने उल्लेख गरिएको छ ।