धरान : प्रधानमन्त्री केपी शर्मा ओली फागुन १६, १८ र २१ गते झापा आउने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार फागुन १६ गते उनी दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुनेछन् । फागुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा विभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तर्गत पर्ने २५ वटा बढी पुलको एकै पटक प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने छन् ।

दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले गौरादह, दमक र कमलमा २ हजार २ सय बिघामा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने छन् । कमल ७ मा हुने कार्यक्रम पछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले बताए ।

प्रधानमन्त्री ओलीले फागुन १८ गते व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने र २१ गते सुखानी शहीद स्मृति दिवसका अवसरमा बिर्तामोडमा हुने सभालाई ओलीले सम्बोधन गर्ने नेकपा झापाका कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।