इटहरी : मोरङको सुन्दरहरैचा नगरपालिकाको सातौँ नगर सभा सम्पन्न भएको छ ।

कार्यपालिकाको बैठकबाट निर्णय भएका विषयहरूमा आंशिक सम्पादन सहित अनुमोदन भएको छ । नगर कार्यपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र हरैचामा पोस्टमार्टम केन्द्र र सर्पदंश उपचार केन्द्र बनाउने निर्णयलाई अनुमोदन गरेको छ । जसको लागी सङ्घीय सरकार र कोसी अस्पताल सँग समन्वय गरिने भएको छ ।

सुन्दरहरैचा-५ को पर्यटकीय क्षेत्र हसिना सिमसारमा आयोजित नगर सभाबाट स्थानीय कला तथा संस्कृति झल्किने पाठ्यक्रम तयार पार्ने निर्णय अनुमोदन भएको छ ।

नगर सभा सदस्यबाट उठेका प्रश्नको जवाफ दिँदै नगर सभा अध्यक्ष तथा मेयर शिवप्रसाद ढकालले नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाए । आन्तरिक आयमा आएको कमी र श्रोत व्यवस्थापनमा देखिएको समस्याको कारण धेरै विषय समेट्न नसकिएको उनको भनाई छ ।

नगर सभामा प्रस्तुत निर्णय पुस्तीकामा सामाजिक तथा भौतिकमा जोड दिइएको छ । महिलाको आङ खस्ने र पाठेघरको मुखको क्यान्सर सम्बन्धी नगर क्षेत्रभित्र शिविर सञ्चालन गरिने भएको छ ।

नगरक्षेत्र भित्र पर्ने पूर्वपश्चिम राजमार्गको ६ स्थानमा ओभर हेड ब्रिज बनाउनको लागी सडक डिभिजन कार्यालय मार्फत सङ्घीय सरकार सँग पहल गरिने भएको छ ।

“नगर अभिभावक सम्मान कार्यक्रम” मार्फत ८० वर्ष पार गरेका वृद्धवृद्धालाई मासिक १ हजार प्रदान गर्ने निर्णय अनुमोदन भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० बाट सर्वोत्कृष्ट अङ्क ल्याउने दलित छात्र १ र छात्रा १ जनालाई प्रोत्साहन स्वरूप जनही ५० हजार दिने निर्णय भएको छ ।

युवा उद्यमशीलताको लागी लघु कर्जा उपलब्ध गराउन नगरक्षेत्र भित्र सञ्चालित बैङ्क तथा वित्तीय संस्था सँग समन्वय गरिने भएको छ । नगरवासीलाई शारीरिक स्वास्थ्य तथा तन्दुरुस्तीका लागी खुल्ला व्यायामशाला बनाउने निर्णय समेत अनुमोदन भएको छ ।

विपन्न वर्गका विद्यार्थीको लागी पूर्वाञ्चल विश्वविद्यालयमा २० लाखको र मदन भण्डारी प्रतिष्ठान नेपाल उर्लाबारीलाई थप ५ लाख रिभवलिङ फन्ड उपलब्ध गराइने भएको छ । जसबाट नगरपालिकाले सिफारिस गरेका विपन्न वर्गका विद्यार्थीले कमाएर किस्तामा तिर्न मिल्ने गरी पढ्न सक्नेछन् ।

त्यस्तै सलकपुरमा सरकारको नाममा रहेको ४ बिघा ८ कट्ठा जग्गामा नगरपालिकाको कार्यालय सार्नका लागी मन्त्रीपरिषद् निर्णय प्रक्रियामा रहेको हुँदा निर्णय पश्चात् तत्काल नयाँ भवन निमार्ण कार्य थालिने भएको छ । विश्वकै ठुलो मानिएको गाईको मूर्ति बनाउन र वकीङ स्ट्रिटमा २५/२५ लाख उपलब्ध गराउने निर्णय नगरसभाले अनुमोदन गरेको छ ।

उपमेयर धनमाया तामाङद्वारा प्रस्तुत प्रतिवेदनमा सबैभन्दा धेरै आयको श्रोत सिफारिस कर देखिएको छ । जसमा १ करोड ८१ लाख ३१ हजार ५७ रुपौँया सङ्कलन भएको छ भने त्यसपछि सम्पत्ति करमा १ करोड ५७ लाख ७० हजार ७ सय २८ रहेको छ ।