झापा :  सवारी चालकलाई ज्यान मुद्दा चलाएको विरोधमा आन्दोलित बनेका यातायात व्यवसायीहरूले आज बिहान दमकमा चक्का जाम गरेर साङ्केतिक विरोध जनाएका छन् ।

गत माघ ५ गते पूर्वपश्चिम लोक मार्ग अन्तर्गत मोरङको गोठगाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा प्रदेश १ ०० १ ख ३४३३ नम्बरको सार्वजनिक बसका चालक रामचन्द्र गिरीलाई पुर्पक्षका लागि कारागार पठाइएको भन्दै यातायात व्यवसायी तथा मजदुरहरू आन्दोलित भएका हुन् ।

विपरीत दिशाबाट आएको को २ च २३१९ नम्बरको कारका चालक बाघ धन राईले लापरबाहीपूर्वक सवारी चलाएको र घटनास्थलको स्केच तयार पार्दा ट्राफिक प्रहरीले गम्भीर त्रुटि गरेको फेला परेका कारण आफूहरू आन्दोलित भएको गुनासो गरिरहेका छन् ।

भोलि आइतबार ट्राफिक प्रहरी चौकी गोठगाउका प्रमुखलाई जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्ने उनीहरूको तयारी छ । यदि भोलि मुद्दा दर्ता नभएको खण्डमा कडा आन्दोलनमा उत्रने उनीहरूले चेतावनी समेत दिएका छन्