धरान : धरान नगर खेलकुद विकास समितिको आयोजनामा ग्रासरुट फुटबल ट्रेनिङ क्याम्प आज देखि सुरु भएको छ । बालबालिकालाई फुटबल खेलको आधारभूत ज्ञान दिनको लागि प्रारम्भिक चरण नै ग्रासरुट ट्रेनिङ क्याम्प हो ।

शनिवार धरान रङ्गशालामा कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपमेयर मञ्जु भण्डारी, एन्फा प्रदेश १ सचिव नवीन राई, पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइली लगायतले संयुक्त रूपमा प्रशिक्षकहरूलाई बल हस्तान्तरण गरी ग्रास रुट ट्रेनिङ क्याम्पको सुरु गरेका थिए ।

फुटबल खेलको ग्रासरुट कार्यक्रमले फुटबल खेल बुझ्न र सिक्नको लागि प्रारम्भिक चरणको ज्ञान दिने कार्यक्रमका प्रमुख अतिथि मेयर तिलक राईले बताए । खेलाडी बन्नको लागि यो ट्रेनिङ महत्त्वपूर्ण रहेको उनले जनाए ।

ग्रासरुट ट्रेनिङ क्याम्पले फुटबल खेलको विकास सँगै धरान खेलाडी उत्पादनका लागि महत्त्वपूर्ण भूमिका हुने कार्यक्रमका विशेष अतिथि उपमेयर मञ्जु भण्डारीले स्वागत मन्तव्यको क्रममा जनाए ।

Grass-root-football-2

प्रशिक्षणको पहिलो दिन १२ वर्ष मुनिका करिब एक सय १५ जना बालबालिकाले सहभागिता जनाएका छन् । उनीहरूलाई ग्रासरुटका प्रदेश १ का पूर्व मुख्य प्रशिक्षक श्याम मानन्धर र धरान उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राईले प्रशिक्षण दिनेछ । उनीहरूलाई धरानका १५ जना पूर्व खेलाडीहरूले सहयोग गर्नेछन् ।

नगर खेलकुद विकास समिति, धरानका सदस्य धनबहादुर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, धरान फुटबल फ्यान क्लबका अध्यक्ष अशोक राई, पूर्व फुटबल खेलाडी चन्द्र प्रधान, नगर खेलकुद विकास समिति सदस्य सुयोग पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।

हरेक शनिवार धरान १६ स्थित रङ्गशालामा हुने ग्रासरुट कार्यक्रमको संयोजन गोधुली क्लब धरानका उपाध्यक्ष सतिस केसीले गरेका छन् ।