विराटनगर : मोरङको केराबारी गाउँपालिका-७ नर्कटे स्थित एउटा बिहे घरमा एक समूहले आक्रमण गरी लुटपाट गरेको छ ।

१०,१५ जनाको समूहले आक्रमण र लुटपाट गर्दा घटनामा बेहुलीका बुवा सहित चार जना घाइते भएका छन् । स्थानीय भगीमान लिम्बूको घरमा आक्रमण गरी बिहे घरबाट पैसा र सुनचाँदीका गरगहना लुटेर फरार भएको मोरङ प्रहरीले जनाएको छ ।

भगीमानकी छोरी २३ वर्षीय सम्झना लिम्बू र सुदीप राईबिच बिहेको कार्यक्रम समापन भइसकेर सबै जना सुतिसकेपछि आएको समूहले एक्कासि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले बताए ।

उनका अनुसार आक्रमणबाट बेहुलीका बुवा ५९ वर्षीय भागीमान लिम्बु, दिदी ३० वर्षीय सविना लिम्बू, कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका छन् ।

सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको टाउको, खुट्टा, हात, अनुहार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

खुकुरी प्रहारबाट भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ भने दायाँतर्फको करङमा भालाले रोपिएको अवस्थामा छ । भगतको फोक्सोमा पनि चोट लागेको उपचारमा संलग्नले चिकित्सकले बताएको प्रहरीले जनाएको छ ।

बेहुली, बेहुला लगायत बिहे घरमा रहेका अरू भने भागेर आक्रमणबाट बचेको बताइएको छ । आक्रमणकारी समूहले बिहेमा बेहुलीको नाममा जम्मा भएको दुई लाख ३५ हजार पाँच सय ४० रुपैयाँ नगद र बेहुलीले लगाएका सुनचाँदीका गरगहना लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ ।

उनीहरूले पाँच तोला सुन र चाँदीका विभिन्न गहना तथा नगद लुटेर आक्रमणकारी फरार भएको एसपी खड्काले बताए । उनका अनुसार छ लाखभन्दा बढीको लुटपाट भएको छ ।