झापा : प्रधानमन्त्री केपी शर्मा ओली आज गृह नगर झापाको दमक आउँदै छन् ।

प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यक्रम नै आफ्नै निर्वाचन क्षेत्रमा राखेका छन् ।

प्रधानमन्त्री ओली भोलि बिहान ११ बजे झापाको भद्रपुर विमानस्थलबाट सोझै आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ तर्फ आउनेछन् ।

सुरुमा उनले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मङ्गलवारे जोड्ने सडकमा पर्ने कमल खोलाको पुल उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी दमक १० बाट मोरङको उर्लाबारी नगरपालिकास्थित अमबारी जोड्ने मावा बेतीनी खोलामा निर्मित पुलको उद्घाटन गर्न पुग्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले कमल गाउँपालिका, गौरादह नगरपालिका र दमक नगरपालिका क्षेत्रमा निर्माण हुने भनिएको चिन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम छ ।

Damak-park-silanyas

उक्त कार्यक्रम कमल गाउँपालिका ७ स्थित झर्का पश्चिममा आयोजना हुदैछ । त्यहाँ आयोजना हुने सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने समेत कार्यक्रम छ ।

त्यसपछि उनले दमक १ मा रहेको आँखा अस्पतालबाट इलामको चुलाचुली जोड्ने सडकमा पर्ने रतुवा खोलाको पुल उद्घाटन गर्नेछन् ।

ओलीको गृह नगरमा अन्तिम कार्यक्रम भने दमक बेलडाँगीस्थित इलामको बकुवा बिचमा पर्ने रतुवा नदिको पुल सहित मदन भण्डारी लोकमार्ग अन्तर्गतको धरान-बाहुँनडाँगीखण्डमा पर्ने ३१ वटा खोलामा निर्माण हुने पक्की पुलको एकैसाथ शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली आजै साँझ साढे ५ बजे भद्रपुर विमानस्थलबाट काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ ।