धरान : धरान उपमहानगरपालिकाको विकास र समृद्धिमा अहोरात्र आफू लागि रहँदा पनि वास्तविकता नबुझी कपोकल्पित र भ्रामक समाचार धरानको एउटा सञ्चार माध्यमले निरन्तर प्रकाशित गरेकोमा धरानका मेयर तिलक राईले आपत्ति जनाएका छन् । 

मेयर राईले एक विज्ञप्ति प्रकाशित गरी धरानबाट प्रकाशित ब्लाष्ट टाईम्स दैनिकले धरान उपमहानगरपालिकाको विकास निर्माणको काममा पटक पटक भ्रामक समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका हुन् । 

धरान उपमहानगरपालिकाको निर्णय बमोजिम नेपाल सरकारको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले सर्दु खोला स्थित बिपी पार्कमा सरसफाइको व्यवस्थापन गर्न आधुनिक शौचालय निर्माण कार्य सुरु गरेको हो । तर फागुन १३ गते बिहीबारको समाचारले नगरवासीमा भ्रम फैलाउन सक्ने भएकाले शौचालय निर्माणको आवश्यकता, योजना नक्सा, प्रक्रियाका बारेमा स्पष्ट गर्दै सोही दिन पत्रकार सम्मेलन समेत मेयर राईले गरेका थिए । 

‘पत्रकार सम्मेलनमा उक्त दैनिकका संवाददाता खिलानाथ विक र नवराज विष्ट पनि उपस्थित थिए ,तर फागुन १४ शुक्रवारको ‘ब्लाष्ट’ दैनिकमा  पत्रकार सम्मेलनमा मैले दिएको स्पष्टीकरणको ठिक उल्टो र भन्दै नभनेको झुटो कुरा समाचारको रूपमा प्रकाशित भयो ।

यसरी थप भ्रामक समाचार प्रकाशित भएपछि शुक्रवारै ‘ब्लाष्ट’ दैनिकको कार्यालयमा गएर प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्की, कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, समाचार सम्प्रेषण गर्ने पत्रकार गोपाल दहाल, खिलानाथ विक समक्ष प्रकाशित समाचारले भ्रम फैलाएको धारणा राखेको थिएँ’ मेयर राईले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

सो क्रममा उनीहरूले पत्रकार सम्मेलनमा भनिएको भन्दा ठिक विपरीत समाचार प्रकाशित भएको पनि स्वीकारेका थिए । सो क्रममा प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्कीले समाचारमा त्रुटि भएकाले आज शनिवारको अङ्कमा सच्याएर अर्को समाचार प्रकाशित गर्ने बचन समेत दिएका थिए । तर उहाँले दिएको बचन अनुसार शनिवारको ‘ब्लाष्ट’ दैनिकमा त्यस बारे पत्रिकाको कुनै कुनामा भूल सुधार समेत प्रकाशित नभएको देख्दा आश्चर्य लागेको मेयरको विज्ञप्तिमा उल्लेख छ ।

धरानका लागि प्रस्तावित ३ परियोजना मध्ये एउटा उपमहानगरपालिको सिफारिसमा धरान-१२ स्थित पब्लिक हाई स्कुलमा शौचालय निर्माण हुनेछ । धरान-धनकुटा सडकको शुरुविन्दुमा बनाउने योजना वेश क्याम्पमा बनाउने भनिए पनि जग्गा नपाएपछि बिपी पार्कमा प्रस्ताव गरिएको हो । तेश्रो योजना सेउती पुलमा बनाउने भए पनि सरसफाइ कोषले नै कटौती गरेको छ ।

उक्त तथ्यलाई ओझेलमा पारेर धरानको पर्यटकीय पूर्वाधार निर्माणको कार्यमा अवरोध पुर्याउने राजनीतिक, व्यक्तिगत पूर्वाग्रह लाई ‘ब्लष्ट’मा सम्प्रेषित समाचारले सघाएको मैले महशुस गरेको धरानबासीलाई अवगत गराउन चाहन्छु मेयर राईले विज्ञप्तिमा उल्लेख गरेका छन । 

'पत्रकार सम्मेलनमा स्पष्ट रूपमा मैले भनेको थिएँ, ब्लाष्टमा छापिएको समाचारमा रुख काटिएको कुरा पढेपछि मात्र थाहा पाएर दुःखी भएँ । योजना अनुसार त्यहाँको दुई वटा रुख लाई जोगाएर बिचको भागमा शौचालय निर्माण गर्ने नक्सा रहेको छ । नक्सा अनुसार निर्माण स्थलमा काम शुरुगर्दा त्यहाँ उपस्थित व्यक्तिहरूले एलाइनमेन्ट परिवर्तन गरी रुख कटाएको कामदारहरूले बताएको पत्रकार सम्मेलनमा मैलै जानकारी गराएको थिएँ । तर पत्रकार सम्मेलनमा भनेको कुरा उल्लेख नगरी एउटा रुख काटिएकोमा ५ रुख काटिएको भनी शुक्रवार व्लाष्टको समाचारमा उल्लेख हुनु तथ्य नबुझी समाचार लेखिएकोमा मेरो आपत्ति छ' विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा पत्रकार सम्मेलनमा मैले राखेका धारणा लाई अन्य समाचार माध्यमहरूले निष्पक्ष रूपमा प्रकाशित गरेकोमा सम्बद्ध अनलाइन, छापा माध्यम र रेडियो एफएमका पत्रकारहरू लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु भनेर मेयर राईले उल्लेख गरेका छन् । 

Tilak-rai-bigyapti-dharan-b