झापा : प्रधानमन्त्री केपी शर्मा ओली गृह नगर दमक आइपुगेका छन् ।

झापाको भद्रपुर विमानस्थलबाट उनी सोझै आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ तर्फ आएका हुन् । सुरुमा उनले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मङ्गलवारे जोड्ने सडकमा पर्ने कमल खोलाको पुल उद्घाटन गरेका छन् भने अहिले केहिबेरमा उनी दमक १० बाट मोरङको उर्लाबारी नगरपालिका स्थित आमबारी जोड्ने मावा बेतीनी खोलामा निर्मित पुलको उद्घाटन गर्न पुग्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले कमल गाउँपालिका, गौरादह नगरपालिका र दमक नगरपालिका क्षेत्रमा निर्माण हुने भनिएको चिन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम कमल गाउँपालिका ७ स्थित झर्का पश्चिममा आयोजना हुदैछ । त्यहाँ आयोजना हुने सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने समेत कार्यक्रम छ ।

त्यसपछि उनले दमक १ मा रहेको आँखा अस्पतालबाट इलामको चुलाचुली जोड्ने सडकमा पर्ने रतुवा खोलाको पुल उद्घाटन गर्नेछन् । ओलीको गृह नगरमा अन्तिम कार्यक्रम भने दमक बेलडाँगीस्थित इलामको बुकुवा बिचमा पर्ने रतुवा नदिको पुल सहित मदन भण्डारी लोक मार्ग अन्तर्गतको धरान–बाहुँनडाँगी खण्डमा पर्ने ३१ वटा खोलामा निर्माण हुने पक्की पुलको एकैसाथ शिलान्यास गर्ने कार्यक्रम छ ।

यसैबिच प्रधानमन्त्री ओली झापामै रहेका बेला सिङ्गै झापाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको झापाका प्रहरी प्रमुख सानुराम भट्टराईले कपुरी न्यूजलाई जानकारी दिएका छन् ।

यस्तै ओलीले सम्बोधन गर्ने कमल गाउँपालिका ७ मा अहिले सर्बसाधाणको उपस्थिति बढ्न थालेको छ । उनको स्वागतका लागि स्वागतद्वारा निर्माण गरिएको छ । यस्तै उनको गृह नगर दमक यति बेला बेहुलीझैँ सिँगारिएको छ ।