झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड-माधव समूहलाई चुनौती दिएका छन् ।

अदालतमा मुद्दा जिते भन्दै लड्डु खाने भन्दा पनि प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव राखेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन उनले चुनौती दिए । अरूलाई प्रधानमन्त्री बनिदिनुपर्‍यो भन्दै बिन्ती चढाउन पुग्दा आफ्नै इज्जत गएको प्रति ख्याल गर्न पनि उनले सो समूहलाई आग्रह गरे ।

आज ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा पर्ने गौरादह, कमल र दमकमा निर्माण हुने चिन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास पछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले आफूलाई कुनै असर नगर्ने जिकिर गरे । उनले जबसम्म जनता आफ्नो साथमा रहन्छन् तबसम्म आफूले कहिल्यै हारको अनुभूति नगर्ने उल्लेख गरे ।

देशमा विकासको लहर चलेको दाबी गर्दै प्रधानमन्त्री ओलीले देशमा विकास भएको देख्न नसक्नेहरूले मात्र आफ्नो विरोध गरिरहेको उल्लेख गरे । शान्ति, एकता र विकास देख्न नसक्नेहरूले मुलुकलाई अँध्यारो तर्फ धकेल्न खोजेको बताउँदै प्रधानमन्त्री ओलीले आफू बाचुन्जेल कसैले त्यो दुस्साहस गरे चुप लागेर नबस्ने समेत बताए ।

लोकतन्त्रलाई तलमाथि हुन नदिने बताउँदै उनले संविधान समय अनुसार परिमार्जन हुन सक्ने सुनाए । चाडै नेत्र विक्रम चन्द नेतृत्वको समूहसँग वार्ता गरी उक्त समस्या समाधान गर्ने उनको भनाइ थियो ।

पार्क शिलान्यास पछि आयोजित सभालाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री ओलीले दमक १ मा रहेको आँखा अस्पतालबाट इलामको चुलाचुली जोड्ने सडकमा पर्ने रतुवा खोलाको पुल उद्घाटन गरे ।

यस्तै दमक बेलडाँगीस्थित इलामको बुकुवा बिचमा पर्ने रतुवा नदिको पुल सहित मदन भण्डारी लोक मार्ग अन्तर्गतको धरान-बाहुँनडाँगी खण्डमा पर्ने ३१ वटा खोलामा निर्माण हुने पक्की पुलको एकैसाथ ओलीले शिलान्यास गरेका छन् । त्यस अघि प्रधानमन्त्री ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा ५ वटा पुलको उद्घाटन गरेका थिए ।