धरान : विराटनगर-१८ का २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसँग १० लाख फिरौती रकम माग गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२० का २० वर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र विराटनगर–६ की २८ वर्षीय सन्ध्या शर्मा रहेको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए ।

खड्काका अनुसार शनिवार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौती बापत परिवारसँग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टाभित्रै कामतलाई विराटनगर–६ बाट सकुशल उद्धार गरेको हो ।

मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका ३ जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।