धरान : धरान –१६ लाई पनि बालमैत्री वडा घोषणा गरिएको छ ।

शारदा बालिका नमुना विद्यालयमा आयोजित कार्यक्रमबाट बालमैत्री वडा घोषणा गरिएको हो । बालमैत्री वडा घोषणा गर्नुअघि वडा कार्यालयबाट र्‍याली निकालिएको थियो ।

२०७५ सालभित्र धरान उपमहानगरलाई बालमैत्री घोषणा गर्ने उद्घोष गरिए पनि कतिपय वडा अहिले सम्म पनि बालमैत्री घोषणा हुन सकेका छैनन् । विशेषतः कोरोना कहरका कारण कतिपय वडा बालमैत्री घोषणा हुन नसकेका हुन् ।

यो घोषणासँगै यो वडा १४ औँ बालमैत्री वडा बनेको छ । अब धरानमा ६ वटा वडा मात्रै बालमैत्री वडा घोषणा हुन बाँकी छ ।

२०७५ फागुन महिना भित्र यस वडालाई बालमैत्री घोषणा गरिसक्ने प्रतिबद्धताका साथ काम अगाडि बढाइएको तर, कोरोनाका कारण बालमैत्री घोषणा हुन एक वर्ष नै लागेको वडाध्यक्ष दिलकुमार गिरीले बताए ।

बाल मैत्री वडा घोषणा प्रतिवेदन सार्वजनिक गर्दै गिरीले भने उनले ३९ वटा सूचकमा तोकिएको नतिजा प्राप्त गरेको र १६ वटा तहगत खुड्किला पार गरेर बालमैत्री वडा घोषणा गरिएको बताए ।

उनले हाल ३२ वटा सूचकमा शत प्रतिशत र बाँकी ७ वटा सूचकमा ८० प्रतिशत भन्दा बढी नतिजा प्राप्त गर्न सफल बनेको बताए ।

उनले ६ महिना सम्मको शिशुलाई आमाले पूर्ण स्तनपान, बालबालिकाले पूर्ण खोप पाएको, भिटामिन ए खुवाइएको, गर्भवती आमाको दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको लगायतका सूचक पार गरेको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सभामुखले बालमैत्री स्थानीय शासन एक रणनैतिक अवधारणा हो, जसले बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता जस्ता बाल अधिकारका विषयहरूलाई स्थानीय तहको नीति, संरचना पद्धति र कार्य प्रक्रियामा मूल प्रवाहीकरण गर्ने गर्दछ ।

तसर्थ धरानमा बाँकी रहेका वडाहरूलाई पनि आफ्ना वडाहरू बालमैत्री वडा घोषणा गरेर धरानलाई बालमैत्री नगरको रूपमा चिनाउन अनुरोध गरे । धरान-१६ मा रहेको जेनिथ् स्कुलले बाल मैत्री वडा घोषणा गर्न केही समय अघि नै निःशुल्क भर्ना अभियान चलाएर वडामा थप सहयोग गरेको थियो ।

16-no-warda-balmaitri-1