धरान : धरान-२० स्थित ओशो आश्रमको परिसरमा बन्न लागेको सार्वजनिक शौचालयको बारेमा आयोजित पत्रकार सम्मेलनमा धरानका मेयर तिलक राईले दिएको अभिव्यक्ति प्रति ओशो महापरिनिर्वाण ध्यान केन्द्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ओशो महापरिनिर्वाण ध्यान केन्द्रले एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 'यस ओशो आश्रम कार्य समिति नगर प्रमुखले बनाउन लाग्नुभएको सार्वजनिक शौचालय निर्माण प्रति कुनै वाधा अड्चन हाल्न चाहँदैन । तर ध्यान साधना गर्ने स्थल भित्र, पानीको मुहान नजिक ४ वटा महत्त्वपूर्ण रुखहरू काट्नु पर्ने भएकोले भरसक सो शौचालयलाई जलाधार विज्ञ, वातावरण विज्ञ प्राविधिकहरूको राय सुझाव अनुसार कम क्षति हुने अन्य स्थानको खोजी गरी बनाउन अनुरोध गर्दै पुस २४ गते नगर प्रमुख तिलक राई धरान वार्ड न १३ र २० का वडाध्यक्षहरूलाई पनि ज्ञापन पत्र बुझाएको विज्ञप्तिमा स्मरण गराइएको छ ।'

'ओशो महापरिनिर्वाण ध्यान केन्द्र भित्र मेयर राईको अनुरोधमा बन्न लागि रहेको शौचालय बिपी पार्क भित्र नपर्ने साथै बिपी पार्क र ओशो महापरिनिर्वाण ध्यान केन्द्र दुई छुटाछुटै उद्देश्य बोकेको संस्था हो' विज्ञप्तिमा भनिएको छ ।

'पत्रकार सम्मेलनमा नगर प्रमुख ज्यूले सार्वजनिक शौचालय निर्माण स्थलमा रहेको रुखहरू काट्न आश्रमकै केटाहरू प्रयोग भएको भनी लगाउनु भएको आरोप प्रति हाम्रो गम्भीर आपत्ति रहेको छ' विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ 'सो स्थलमा नगर प्रमुख ज्युले ४ वटा रुखहरू छन् भन्ने देख्दा देख्दै आफै ठेकेदार कम्पनीलाई रुख काटेर एक्स्काभेटर चलाउन निर्देशन दिनु भएको थियो । जुन कुरा ठेकदार तेज नारायण शाहलाई सोध्दा पनि सहजै थाहा हुन आउँछ ।'

नगर प्रमुख राईले त्यस स्थानमा शौचालय बनाउन आश्रमका सन्न्यासी आनन्द श्रेष्ठले माईन्यूट गरेको भन्ने भनाई प्रति पनि स्पष्टीकरण दिएको छ । नगर प्रमुखले चिठ्ठी पत्र काटेर शौचालयको बैठकको लागी भनी कुनै औपचारिक बैठक नबोलाएको बरु स्थानीय आमा समूह र पार्क समितिका केही सदस्यहरूलाई मात्र रोलाएको जनाउँदै विज्ञप्तिमा सो भेलामा बिहानको ध्यान सकेर बाहिर निस्किएका सन्न्यासी तथा स्थानीयवासी आनन्द श्रेष्ठलाई नगर प्रमुखले व्यतिगत रुपमा बोलाउनु भई माइन्युट लेखिदिन आग्रह गर्नु भएको थियो । 'नगर प्रमुख जस्तो अभिभावकले माईन्युट लेखीदिनुस भन्दा इन्कार गर्नु पर्ने कुरै आएन । तर वहाँको उपस्थितिलाई सिगों आश्रमको प्रतिनिधित्वको रूपमा लिएर पत्रकार सम्मेलनमा शौचालय बनाउन दिने कुरामा आश्रमको पनि सहमति रहेको भन्नु लाई हामीले आपत्ति जनाउन चाहन्छौ ।'

स्थानीयवासीले बनाएको मलामी घर बेवारिसे अवस्थामा रहेको र त्यहाँ अवाञ्छित गतिविधि हुन थाले पछि आफूहरूले संरक्षण गर्दै मलामी घर निर्माण समितिसँग समन्वय गरेर सो क्षेत्र केन्द्रले प्रयोग गर्न थालेको पनि ओशो महापरिनिर्वाण ध्यान केन्द्रका अध्यक्ष हरिशरण शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

Oso-2Oso-3