धरान : धरानका ८ वटा होटलहरु मध्ये धरानको होटल गजुर प्यालेस 'क' वर्गमा परेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाले धरानका होटलहरुको स्तरीकरण गर्ने उद्देश्यले अनुगमन सुरु गर्दा होटल गजुर प्यालेस 'क' मा परेको हो । आइतबारदेखि धरानका होटलहरुको अनुगमन तथा स्तरीकरण अभियान थालिएको हो ।
पहिलो दिन धरानका ८ वटा होटलहरुको अनुगमन गरिएको थियो । ती होटलहरुमध्ये धरान ८ स्थित होटल गजुर प्यालेस मात्र अति उत्तम वर्गको होटलमा परेको छ ।
होटलको भित्री बाहिरी व्यवस्थापन, होटलले दिने सेवा सुविधा तथा सरसफाइ लगायतका विषयमा आधारित भएर अनुगमन तथा स्तरीकरण गरिएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जनकारी दिए ।
उनका अनुसार आइतबार ८ वटा होटलहरु अनुगमन भएको थियो । ती मध्ये होटल गजुर प्यालेस अति उत्तममा स्तरीकरण भएको छ ।
यस्तै, ख वर्गको उत्तम होटलहरुमा धरान किचन, लेबल अप र बराह फेमिली किचन स्तरीकरण भएको छ ।
अनुगमनको क्रममा ५० वटा सुचांकहरुमा ९० अङ्क ल्याउँदा क वर्गमा स्तरीकरण हुन्छ । भने ८० भन्दा माथि अङ्क ल्याउँदा ख वर्गमा र ६५ अङ्कभन्दा माथि आए ग वर्गमा स्तरीकरण हुने गर्छ ।
अनुगमनको क्रममा होटल सञ्चालकहरूलाई सुधार गर्नुपर्ने कुराहरू समेत बताइएको थियो भने अन्य सबै होटलहरुको स्वास्थ्य सेवा प्रवाह सन्तोषजनक नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाले जनाएको छ ।
उपभोक्ता हित संरक्षणको टोली, धरान नगर प्रहरी र इलाका प्रहरी कार्यालय धरानका प्रहरीले होटल अनुगमनमा सहयोग गरेका छन् ।
धरान १० का अन्य होटलहरु आज पनि अनुगमन तथा स्तरीकरण गरिने अनुगमन अधिकृत देव प्रसाद सापकोटाले जानकारी दिए ।