धरान : मोरङको बेलबारी नगरपालिका-५ कसेनीमा खुकुरी प्रहार गरेर फरार भएका एक जना ओमनारायण धामीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

धामीले गत भदौ १२ गते दिउँसो १ बजे मोरङको बेलबारी नगरपालिका-५ कसेनी लोहोन्द्रा पुलमा विवाद हुँदा खुकुरी प्रहार गर्दा चन्द्रकुमार राईको मृत्यु भएको थियो ।

पक्राउ परेका धामी ग्रामथान गाउँपालिका वडा नं ४ मोतीपुरका ३८ वर्षीय ओमनारायण धामी हुन् । उनलाई आइतबार राती साढे ९ बजे बुढीगंगा गाउँपालिका २ वाईपास रोडबाट पक्राउ गरेको मोरङका डिएसपी मान बहादुर राईले जानकारी दिएका छन् ।

घटना पछि फरार रहेका धामीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा धामीसँगै बेलबारीका जितेन चौधरी, दिनेश श्रेष्ठ, सन्तोष मगरले पुलको सामान्य विवादमा खुकुरी प्रहार गरेका थिए ।

सई कुमार राई, चन्द्र कुमार राई ,समुन्द्र राई र गौरव राई उक्त घटनामा घाइते भएका थिए । घटनामा घाइते भएका चन्द्र कुमारको उपचार गर्ने क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको थियो ।