धरान : नगरी काम पुग्दैन खान भनेझैँ मेहनत र परिश्रम गर्‍यो भने खान र लाउन कहिल्यै खाँचो हुँदैन । यसको ज्वलन्त उदाहरण बनेकी छिन धरान १६ की सीता आचार्य । 

उमेरले उनी ३० वर्ष पुगिन्, श्रीमानसँग छुटिएर बसेको ७ वर्ष पुगेको छ। श्रीमानले छोडेपछि उनको दैनिकी फेरिएको छ, उनी अहिले साइकलमा फलफूल व्यापार गर्छिन् । 

धरान-१३ को अमरहाटमा बिहान सिजन अनुसार आँप, स्याउ सुन्तला, लिची, कोला, अंगुर, अम्बक आदीको व्यापार गर्छिन् । उनी भन्छिन्  '१ के जी मा १०, २० रुपैयाँ फाइदा हुन्छ' ।  दिनमा उनी करिब १ सय केजी फलफूल बेच्दै आएकी छिन् ।

सिता भन्छिन् 'पुरुषले श्रीमतीको मृत्यु पछि वा छुटिएर बसेपछि अर्की खोज्छन् तर, महिला श्रीमानको मृत्युपछि वा छुटिएर बसे पछि सन्तानको लागी रोजगार वा उपार्जनको बाटो खोज्छन्।' मेरो श्रीमानले पहिलाको श्रीमती अर्कैसँग गएपछि  मलाई दोस्रो  श्रीमतीको रूपमा  विवाह गर्नु भएको हो । 

'पुरुषहरू सामान्य घर झगडा हुँदा पनि अर्की श्रीमती ल्याएर देखाउँछु भन्दै  पुरुषार्थको घमन्ड गर्छन' उनले भनिन् । अनि धेरै छोराछोरी अपहेलित भएका छन । 'अहिले पनि मेरो श्रीमान् अर्की श्रीमतीको खोजीमा हुनुहुन्छ तर, छोराछोरीको लागि भविष्य सोचे।'

सीताका दुई छोराहरू १५ वर्षीय शुसन आर्चाय र १२ वर्षीय रोशन आर्चाय हाल  इटहरीको नारायण मन्दिरको गुरुकुलमा पढ्छन् ।

उर्लाबारी-६ घर भएकी सिता धरान-१६ बस्छिन् । उनी जुन घरमा बस्छीन सो घरका घरवालाले उनको घर भाडा मिनाहा  गर्दिएका छन् । हालसम्म घर भाडा बापतको रकम तिर्नु नपरेकाले आफूलाई थोरै भए पनि आर्थिक सहयोग भएको बताइन्।

उनले भनिन 'मैले पनि विवाह गर्ने सोच बनाएर हिँडेको भए आज छोराछोरीको भविष्य बिग्रिन्थ्यो होला जस्तो लाग्छ'  छोराछोरी आज्ञाकारी अनुशासित बनाउन आमाबुबाको उत्तरदायित्व रहेको बताइन्। जन्म दिनु मात्र आमा बुबाको कर्तव्य हैन उचित कर्म दिनु चैँ कर्तव्य हो । 

देख्दा उनलाई सजिलो तरिकाले पेसा गरेको देखिए पनि उनी पानी पर्दा छाता ओढ्न नपाएकै कारण भिज्ने  गरेको र तातो घामले  पोलेको  पनि सुनाउँछिन्।  उनी शाहकारी भएकाले होटलहरुमा केही नखाने पनि बताउँछिन् । 'महिनावारी हुँदा त ढाड कम्मर दुख्छ, साइकल चलाउन  निकै गाह्रो हुन्छ।' 

राम्रो काम पाए गर्ने पनि उनी बताउँछिन् । पैसा बचत गरेर भाँडामा दोकान खोल्ने पनि उनको अबको नयाँ सोच छ । मेरा साथीहरू धेरै जना विदेश पनि गएका छन् तर नेपालमा नै दु:ख सुख गरेर  जीवन चलाउने उनले बताइन् ।