धरान : सर्वोच्च अदालतको फैसला पछि एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाले धरानमा आज देखि अलग-अलग र आ-आफ्नै कार्यालयमा बोर्ड राखेर विधिवतरुपमा छुट्टिएर पार्टीको काम गर्न सुरु गरेका छन् ।

अदालतले साबिक कै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग अलगरुपमा कार्यालय सञ्चालन गर्ने भएका हुन् ।

जस अनुसार आज धरानको नेकपा एमालेले धरानको छाता चौकमा रहेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेर नेकपा एमाले पार्टीको काम गर्न सुरु गरेको छ भने माओवादी केन्द्रले पनि धरानको सिंहदेवी नजिक रहेको साबिकको माओवादी केन्द्रको कार्यालयमा बोर्ड राखेर औपचारिकरुपमा पार्टीको काम सुरु गरेको छ ।

आज विहान धरानमा नेकपाको अन्तिम संयुक्त बैठक बसेर आ-आफ्नै पार्टी कार्यालयमा बोर्ड राखेर पार्टीको काम संचालन गर्ने निर्णय भए अनुसार धरानमा एमाले र माओबादी केन्द्रले आ आफ्नै पार्टी कार्यालयमा बोर्ड राखिएको माओबादी केन्द्रका धरान संयोजक चोत्लुङले जानकारी दिए ।

यसै गरी आज बिहान अदालतको फैसला अनुसार नेकपाको सुनसरी जिल्लाको नेतृत्व बैठक बसेर एमाले र माओवादी केन्द्र अलग अलग हुने निर्णय गरिएको एमाले अध्यक्ष रमेश बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार अव माओवादी केन्द्रले पार्टी कार्यालय आफै व्यवस्थापन गर्नुपर्नेछ । नेकपाको पार्टी कार्यालय एमालेकै भएकोले अबदेखि नेकपा एमालेको पार्टी कार्यालय त्यहीबाट सञ्चालन हुने उनको भनाई रहेको छ ।

नेकपाका सुनसरी अध्यक्ष योगेन्द्र प्रसाद मण्डलले सर्वोच्चको फैसला कार्यान्वयन गर्नेक्रममा माओवादी केन्द्रले पूर्व एमालेको पार्टी कार्यालय छोडेर आफ्नै पार्टी कार्यालय जाने निर्णय गरिएको जानकारी दिएका छन् ।

प्रचण्ड माधव पक्षको स्थायी कमिटीको सोमवार बसेको बैठकले सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र अलग अलग रहने निर्णय गरेको थियो ।