धरान : इनरुवा नगरपालिकाका मेयर राजन मेहताले एक सय तिस परिवारको निःशुल्क स्वास्थ्य बिमा गरी दिएका छन् ।

मेयर मेहताले आफ्नो मासिक तलब र सेवा सुविधाबाट प्राप्त हुने रकमले एक सय ३० परिवारको स्वास्थ्य बिमा गराएका हुन् । मेयर मेहताले इनरुवा २ मगर टोलका विपन्न तथा अति गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गरि दिएको बताएका छन् ।

निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा सबैको पहुँच स्थापित गराउन आफूले सहयोग गरेको उनले बताए । मेहताले सरकारी बिमा कार्यक्रम भरपर्दो र सबैका लागि लाभदायी रहेकाले व्यक्तिगत पहलमा विपन्न तथा गरिब परिवारको स्वास्थ्य बिमा गराएको बताए ।

मेयरले निःशुल्क स्वास्थ्य बिमा गराइ दिए बापत परिवारको हकमा ४ लाख ५५ हजार रुपैयाँ स्वास्थ्य बिमा बोर्ड सुनसरीलाई बुझाउनु पर्ने छ । सबै परिवारको फारम भरि सकेपछि रकम उपलब्ध गराउने मेहताले बताएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रममा समेट्न लागिएको परिवारले जेठ १ गतेबाट स्वास्थ्य उपचार सेवा लिन पाउने छन् । बिमाको अवधि भने १ वर्षको रहने छ । सो अवधि भित्र प्रत्येक परिवारले सरकारले निर्धारण गरे अनुरूपको सेवा बापत १ लाख बराबरको स्वास्थ्य उपचार पाउने छन् । त्यस पश्चात् भने सेवा निरन्तरताको लागि पुनः बिमा नवीकरण गर्नु पर्ने हुन्छ ।