झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालयमा नेकपा एमाले लेखिएको बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले बिर्तामोडस्थित पार्टी कार्यालयमा मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी लेखिएको नाम मेटाएर नेकपा एमाले लेखेको बोर्ड राखेका हुन् । यो कार्यालय तत्कालीन एमालेको नै रहेको थियो ।

नेकपामा ओली र प्रचण्ड-नेपाल समूह विभाजित भएपछि दुवै पक्षले पार्टी कार्यालयमा कुनै गतिविधि नगर्ने सहमति अनुसार तालाबन्दी गरेका थिए ।

अब पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएपछि कार्यालय पुनः सञ्चालनमा आएको कार्यालय सचिव शिव ढुङ्गेले जानकारी दिए ।

यता एमालेले आफ्नो पार्टी कार्यालय सञ्चालनमा ल्याएपछि माओवादी केन्द्र पनि छुट्टै पार्टी कार्यालय सञ्चालनको तयारीमा रहेको बुझिएको छ ।