झापा : झापाको बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा मेन्स डवलमा प्रनिशसिंह ठकुरी र दीपक घिमिरेको जोडीले जितेको छ ।

नवीन सिलवाल, चाणक्य पाठक बिर्तामोडलाई २२-२०,९-२१ र २१-१९ को अङ्कमा हराउँदै प्रनिशसिंह ठकुरी, दीपक घिमिरेको जोलीले उपाधि जितेको हो ।

जीतसँगै विजेताले नगद २५ हजार नगद र ट्रफी हात पारेका छन्  । उपविजेता नवीन सिलवाल र चाणक्य पाठकले नगद २० हजार ट्रफिमा चित्त बुझाउनु परेको छ । यसै गरी तेस्रो हुने जोडिलाई नगद आठ हजार सहित ट्रफि प्रदान गरियो ।

४५ प्लस डवलमा सञ्जय भक्तराज, गणेश कार्की बिर्तामोडको जोडीले  श्रीप्रसाद धिमाल, विष्णु तामाङ काँकडभिट्टाको जोडीलाई २१-७, २१-७ को सोझो सेटमा हराउँदै फाइनल जितेका छन् ।

जीतसँगै सञ्जय र गणेशको जोडीले नगद २० हजार तथा ट्रफि र उपविजेता धिमाल र तामाङले नगद १५ हजार ट्रफी हात पारेका छन् भने तेस्रोलाई नगद पाँच हजार सहित ट्रफी प्रदान गरियो ।

लायन्स क्लब अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ २३ गतेबाट सुरु भएको थियो ।

बिर्ता ब्याडमिन्टन क्लवको कवर्ड हलमा भएको सो प्रतियोगितामा खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ टिम सहभागी थिए ।