झापा : नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली काँग्रेसको केही नेतृत्वहरुलाई सत्ताको घोडा चढ्न हतारो रहेको आरोप लगाए ।

नेता गुरुङले वर्तमान राजनीतिको सङ्कट समाधान गर्न सहमति सहकार्य र पार्टी भित्र एकताको खाँचो रहेको औल्याए ।

नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ५ ले दमकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले यस्तो बताएका हुन ।

काँग्रेसका अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राजनीति गुटको नभएर विचारको हुनुपर्ने बताएका छन् । पार्टी भित्र बिचारको भन्दा पनि गुटको हाबी भएको र यसले नेपाली काँग्रेसलाई गतिशील बनाउन नसकेको गुनासो समेत गरे । 

नेपाली काँग्रेसका विभिन्न भातृ सङ्घ सङ्गठनहरूको अहिले सम्म पनि अधिवेशन हुन नसकेको र यसले सिङ्गो पार्टीलाई नै असर गरिरहेको नेता कोइरालाको ठहर रहेको थियो ।

उनले पार्टीलाई गतिशील बनाउन नेपाली काँग्रेसका प्रत्येक सदस्यहरूले सचेत भएर गुटभन्दा पनि बिचार र सिद्धान्तलाई अनुसरण गरेर अगाडि बढ्न आग्रह गरे ।

यसैगरी कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाली काँग्रेस भित्र सोच र नेतृत्व परिवर्तनको आवश्यक रहेको बताए ।

सो कार्यक्रमलाई पार्टी केन्द्रीय सदस्यहरू गुरु प्रसाद बराल, सरिता प्रसाईँ आमन्त्रित केन्द्रीय सदस्य दिलीप राई लगायतले सम्बोधन गरेका थिए ।