धरान : कोरोना विरुद्धको दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान अन्तर्गत धरानमा आज सम्म २ हजार ६ सय ८४ जनाले खोप लगाइसकेका छन् ।

धरानमा दोस्रो प्राथमिकतामा रहेका ५५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरूको कोरोना विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश महेताले जानकारी दिए ।

Corona-Khop-5

साथै विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारी, ज्येष्ठ नागरिक, सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई प्राथमिकतामा राखेर खोप लगाईदैछ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार धरानको ६ वटा खोप केन्द्रहरू धरान स्वास्थ्य चौकी, स्वास्थ्य चौकी पाचकन्या, स्वास्थ्य चौकी विष्णुपादुका, धरान १५ श्याम चोक, ८ नम्बर वडा कार्यालय, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र रेल्वेबाट लक्षित समूहलाई खोप लगाईदैछ ।

Corona-Khop-4

धरानमा ७० वर्ष देखि माथिका ६ हजार १ सय ९१ जना, शिक्षक शिक्षिका ८ सय ७४ जना, औषधी पसल र ल्याबमा काम गर्नेहरू ६ सय जना, सार्वजनिक यातायातका चालक सहचालक ७ हजार २ सय जना गरी जम्मा २१ हजार ६ सय ३१ जनालाई खोप लगाइने लक्ष लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

Corona-Khop-3

खोप केन्द्रहरूमा उत्साहजनक सहभागिता देखिए पनि धरानमा पहिलो दिन ६ सय ५ जना, दोस्रो दिन ७ सय ४९ जना, तेस्रो दिन १ हजार ३ सय ३० जना गरी २ हजार ६ सय ८४ जनाले मात्रै खोप लगाएका छन् । यसलाई हेर्ने हो भने धरानमा जम्मा २१ हजार ६ सय ३१ जनालाई खोप लगाइने लक्ष लिइए पनि लक्षमा पुग्न निकै गाह्रो देखिएको छ ।

Corona-Khop-1